
उदयपुर – जिल्ला अस्पताल उदयपुरका चिकित्सक डा. दिपेश यादवमाथि दुर्व्यवहार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय देवराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो अस्पतालको कार्यालय समयमा रेडियोलोजिस्ट डा. यादवमाथि विष्टले कार्यकक्षभित्र प्रवेश गरेर गालीगलौज गरेको अस्पताल प्रशासनले जनाएको छ। डा. यादवको भनाइअनुसार, उनी खाजा खाएर कार्यकक्षमा फर्किएलगत्तै विष्टले ढोकामा लात्ती हानेर कोठामा पसेर आक्रोसपूर्ण व्यवहार गर्दै गाली गरेका थिए।
त्यस समय यादव बिरामीहरूको नाम बोलाउने क्रममा थिए र बाहिर करिब २०–२२ जना बिरामी लाइनमा थिए। अस्पताल प्रमुख डा. बीरेन्द्र मण्डलले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



