
काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औँ स्थापना दिवस मंगलबार विशेष समारोहका साथ मनाइएको छ। प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा शिक्षा र सेवामा न्याम्सले पुर्याएको योगदानको प्रशंसा गर्दै बढ्दो ‘ब्रेन ड्रेन’ (विदेशिने चिकित्सकको संख्या) लाई रोक्नुपर्नेमा जोड दिएका छन्।
‘स्वास्थ्य सेवामा सुधार आइरहे पनि जनशक्तिलाई पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ,’ उनले भने, ‘त्यसैले चिकित्सकको विदेशिने प्रवृत्ति बढ्नु चिन्ताको विषय हो। यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।’

राष्ट्रपतिले दक्ष चिकित्सक उत्पादनमा राष्ट्रले लगानी गरेको हुँदा चिकित्सकहरूले सेवा भावसाथ यो पेशालाई हेर्नुपर्ने उनले उल्लेख गरे।
सो अवसरमा न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले न्याम्सले हालसम्म १,५०० बढी एमडीएमएस, १५० डीएम/एमसीएच र १,६०० बढी नर्सिङ जनशक्ति उत्पादन गरिसकेको जानकारी गराए। हाल करिब १,५०० जना विद्यार्थी विभिन्न तहमा अध्ययनरत रहेको उनले बताए। ‘यसपटक कानसम्बन्धी उपचारका लागि बीएएसएलपी, रेडियोथेरापी टेक्नोलोजिष्टजस्ता नयाँ विषयमा पनि अध्ययन हुने व्यवस्था मिलाउँदैछौँ,’ बस्नेतले भने।
उनले शिक्षण अस्पताल सञ्चालन हुँदा बिरामीलाई समेत प्रत्यक्ष लाभ हुने बताए। ‘विशेषज्ञको अभाव हुँदैन, अध्ययन–अध्यापनकै क्रममा नयाँ अनुसन्धानको खोजी पनि हुन्छ, जसले सेवा गुणस्तरीय बन्छ,’ उनले स्पष्ट पारे।
न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले वीर अस्पताल र ट्रमा सेन्टरमार्फत सर्वसाधारणलाई सहज पहुँचका साथ विशेषज्ञ सेवा दिइँदै आएको र प्रदेश तथा जिल्लामा पनि विशेषज्ञ पुर्याउन न्याम्सले विशेष भूमिका खेलेको जानकारी दिए।

न्याम्सका डीन डा. अशेष ढुंगानाले यो वर्ष थप ६ वटा अस्पतालसँग नयाँ एमओयूगरिएकाले अब २४ वटा अस्पतालले न्याम्ससँग सम्बन्धन लिएको बताए। उनका अनुसार डीएममा १० र एमसीएचमा ६ विषयमा पढाइ भइरहेको छ, जुन देशमै सबैभन्दा बढी हो।
शिक्षाध्यक्ष डा. लोचन कार्कीले न्याम्सका शैक्षिक कार्यक्रमबारे विवरण दिँदै दक्ष जनशक्ति उत्पादन र नवप्रवर्दनमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले वीर अस्पतालले दिनसक्ने उपचार सेवा र सुविधाबारे प्रेजेन्टेसन प्रस्तुत गरेका थिए।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पछिल्लो २० वर्षमा नेपाल मेडिकल काउन्सिलमा चिकित्सकको संख्या ४ गुणा बढेको भए पनि उनीहरूलाई स्वदेशमै टिकाइराख्नु चुनौती भएको उल्लेख गरे। ‘जनशक्ति उत्पादन मात्र पर्याप्त छैन, उनीहरूलाई प्रोत्साहित गर्दै स्वदेशमै सेवा गर्न सक्ने वातावरण बनाउनुपर्छ,’ मन्त्री पौडेलले भने।
२०५९ मा स्थापना भएको न्याम्सले वीर अस्पताललाई स्तरोन्नति गर्दै चिकित्सा शिक्षा, सेवा र अनुसन्धानलाई एकसाथ अगाडि बढाउने उद्देश्य राखेको थियो। वीर अस्पतालको इतिहास झन् पुरानो छ । वि.सं. १९४७ मा १५ शैयाबाट सुरु भएको यो अस्पताल सन् १९३३ मै सिभिल मेडिकल स्कूलमार्फत चिकित्सा शिक्षाको सुरुआत गर्ने संस्था पनि बनिसकेको छ।
हाल न्याम्सले वीरसँगै देशभरका अन्य प्रमुख अस्पतालहरू कान्ति बाल अस्पताल, परोपकार प्रसूति अस्पताल, गंगालाल मुटु केन्द्र, पाटन मानसिक अस्पताल, सिभिल अस्पताल, तिलगंगा र त्रिपुरेश्वर आँखा अस्पताल, भैरहवाको रणअम्बिका, भरतपुर अस्पताल आदिसँग मिलेर स्नातकोत्तर तहसम्मको चिकित्सा शिक्षा सञ्चालन गरिरहेको छ।
न्याम्सले आगामी दिनमा अझ बढी नवप्रवर्दन, अनुसन्धान र गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्य राखेको उपकुलपति बस्नेतले बताए।



