
काठमाडौँ – डाक्टरहरूको अगुवाइमा स्थापना भएको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड बन्द हुने भएको छ। काठमाडौँ महानगरपालिका–१० मा रहेको सो सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएकाले अब संस्था बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ।
विस २०७७ मा स्थापना भएको यो संस्था पाँच वर्ष नपुग्दै बन्द हुन लागेको हो। काठमाडौँ महानगरपालिकाको सहकारी विभागले संस्थाले सञ्चालन स्थगन गर्दै दर्ता खारेजीका लागि २०८१ साल चैत १ गते निवेदन दिएको जानकारी दिएको छ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड ०३/०७७/७८ (का.म.पा–१०, काठमाडौं) ले दर्ता खारेजीका लागि निवेदन दिएको छ र संस्था हाल सञ्चालनमा नरहेकाले सो प्रक्रिया अघि बढाइएको छ।”
साथै, सहकारीसँग कुनै पनि प्रकारको लेनदेन भएका कर्जा लिने वा बचत गर्ने व्यक्तिहरूलाई सूचनाको मितिले १५ दिनभित्र सहकारी विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ। संस्थाले तिर्नुपर्ने दायित्व वा उठाउनुपर्ने ऋणसम्बन्धी विषयमा जानकारी दिन वा पाउनका लागि यो सूचना प्रकाशित गरिएको हो।



