
धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा. डा. सञ्जीवकुमार शर्माले पाएका छन्। उपकुलपति डा. ज्ञानेन्द्र गिरी अवकाशमा गएपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको थियो।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको वैशाख ४ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले डा. शर्मालाई निमित्त उपकुलपतिमा नियुक्त गरेको हो। प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. शर्मालाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरू सुचारु गर्न यो जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि प्रतिष्ठानको सम्पूर्ण कामकारबाहीको जिम्मेवारी डा. शर्माले सम्हाल्ने छन्। डा. शर्माले आइतबारदेखि निमित्त उपकुलपतिका रूपमा कार्यभार सम्हालेका छन्।



