
काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति पदमा डा. डबल बहादुर धामी नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ४ वैशाखमा भएको निर्णयअनुसार, डा. धामीले स्थायी नियुक्ति नभएसम्म शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्।
डा. धामी वर्तमानमा प्रतिष्ठानमा शिक्षाध्यक्ष र सह-प्राध्यापकका रूपमा कार्यरत छन्। उनले सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दन्त शल्यचिकित्सक उपाधि प्राप्त गरेका थिए। त्यसपछि, उनले सन् २०१४ मा नेपालगञ्ज मेडिकल कलेजबाट क्लिनिकल फार्माकोलोजी र थेराप्युटिक्समा एमडी उपाधि हासिल गरेका छन्।
डा. धामी विद्यार्थीमैत्री, मृदुभाषी र अनुशासित व्यक्तित्वका रूपमा परिचित छन्। उनका शैक्षिक र व्यवस्थापकीय अनुभवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेशी र गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा अघि बढाउने विश्वास लिइएको छ।


