

हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्टाछुट्टै राख्नुपर्ने मागसहित हेटौंडाबासीले चरणबद्ध आन्दोलन र हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेका छन् ।
हेटौंडा अस्पताल सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागमा सुनुवाइ नभएको भन्दै गत बुधबार केही अभियन्ताहरूले प्रतिष्ठानको बोर्ड हटाएर ‘हेटौंडा अस्पताल’ लेखिएको बोर्ड राखेपछि विवाद चर्किएको हो ।
विवादपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बोर्ड परिवर्तन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । त्यसपछि प्रहरीले विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूसँग समन्वय गर्दै पक्राउको तयारी अघि बढाएको थियो ।
यसैक्रममा बोर्ड परिवर्तन गरेका अभियन्ता सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला गर्ने भन्दै बोलाइ जिल्ला प्रशासन कार्यालयमा दिनभर होल्ड गरेर हिरासतमा राखिएको हो ।
हिरासतमा रहेका युवाहरूले हेटौंडा अस्पताललाई मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै अनशन थालेका छन् । नेपाल तरुण दल हेटौंडा नगर सभापति समेत रहेका सुनिल गिरीले आन्दोलन मकवानपुरबासीको साझा विषय भएको भन्दै हिरासतमै अनशन जारी राखिएको जानकारी दिए ।
यता, प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिसकेका छन् ।