

काठमाडौँ – प्रहरी हिरासतमा रहेका राप्रपाका महामन्त्री तथा क्यान्सर पीडित डा. धवल शम्शेर राणालाई आवश्यक उपचार नदिई पीडादायी अवस्थामा राखिएको भन्दै संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले आज एक विज्ञप्ति जारी गर्दै राणालाई तीनकुने गोलीकाण्डको झुटो मुद्दामा फसाउन खोजिएको र सरकार उनको उपचार रोकेर गम्भीर षडयन्त्रमा लागेको आरोप लगाएका हुन् ।
संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका धवल शम्शेर राणा चैत १५ गते तीनकुनेमा भएको आन्दोलनपछि पक्राउ परेका थिए । उनलाई हाल भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
विज्ञप्तिमा राणालाई पहिले नै चिकित्सकले आवधिक परीक्षणका लागि भारतको मुम्बई जानुपर्ने समय तोकिएको उल्लेख गर्दै, सरकारले जान नदिएर उपचारमा बाधा पुर्याएकोप्रति आपत्ति जनाइएको छ । नेपालले विज्ञप्तिमा भनेका छन्, “उपचारका लागि विदेश जान नदिने सरकारको यो अडान अमानवीय र गलत छ। हामी तत्काल उनलाई चिकित्सकीय सल्लाहअनुसार उपचारका लागि पठाउन जोडदार माग गर्दछौं ।”
राणाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले नियमित र विशेषज्ञ उपचारको व्यवस्था गर्नुपर्ने माग गर्दै, विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई समेत हस्तक्षेप गर्न आह्वान गरिएको छ ।
डा. धवल शम्शेर राणालाई केही महिनाअघि गिजाको क्यान्सर भएको थियो र उनले भारतको मुम्बईमा उपचार गराएका थिए ।