

काठमाडाैं- भारतको हरियाणा राज्यअन्तर्गत गुरुग्रामस्थित मेदान्ता अस्पतालमा ४६ वर्षीया एक एअर होस्टेसमाथि भेन्टिलेटरमा रहँदाको समयमा यौन दुर्व्यवहार गरिएको घटनाले सार्वजनिक रूप लिएको छ । पीडित महिलाको उजुरीका आधारमा गुरुग्राम प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला कम्पनीको तर्फबाट तालिमका लागि गुरुग्राम आएकी थिइन् र एक होटलमा बसोबास गरिरहेकी थिइन् । सो क्रममा बिरामी परेपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो ।
पीडितले प्रहरीलाई दिएको बयानअनुसार, अप्रिल ६ मा उपचारका क्रममा उनी भेन्टिलेटरमा रहँदा अस्पतालका एक कर्मचारीले यौन दुर्व्यवहार गरेका थिए । त्यो बेला उनी न त बोल्न सक्ने अवस्थामा थिइन्, न त प्रतिकार गर्न सक्ने । उनी निकै डराएकी थिइन् ।
उनको उजुरीमा उल्लेख भएअनुसार घटनाको समयमा उनी बेहोस अवस्थामा थिइन् र वरिपरि दुई नर्स पनि थिए ।
उपचारपछि डिस्चार्ज भएपछि महिलाले उक्त घटनाबारे आफ्नो श्रीमान्लाई जानकारी दिइन् र त्यसपछि प्रहरीमा उजुरी दर्ता गराइन् ।
प्रहरीले दोषी पहिचान गर्न अस्पतालको सीसीटीभी फुटेज जाँच गरिरहेको छ र चाँडै अभियुक्तलाई पक्राउ गरिने जनाएको छ ।
यता, अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही सुनिश्चित गर्न अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ। साथै, अस्पतालले आवश्यक सबै कागजात र सीसीटीभी फुटेज पनि प्रहरीलाई बुझाएको छ ।
