

काठमाडौं – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन शनिवार सम्पन्न भएको छ ।
तीनदिने सम्मेलनको समापन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । शिखर सम्मेलनले काठमाडौं घोषणापत्र जारी गरेकाे थियाे । मन्त्री पौडेलले अनुसन्धानबाट निस्किएका निष्कर्षलाई नीतिमा रूपान्तरण गर्न सरकार गम्भीर रहेको बताए । “स्वास्थ्य क्षेत्रको जटिलता मन्त्री बनेपछि मात्र बुझेँ,” उनले कार्यक्रममा भने, “अब यस क्षेत्रको सुधारका लागि अनुसन्धानको प्रयोग प्राथमिकता हुनेछ ।”
उनले अहिलेको कानुनी संरचना पुरानो भएकाले आवश्यक सुधारको खाँचो रहेको उल्लेख गर्दै, २०४८ सालदेखि स्वास्थ्य क्षेत्रको कानून परिवर्तन नभएकोले जनशक्ति व्यवस्थापनमा समस्या आइरहेको बताए ।
सम्मेलनमा जलवायु परिवर्तन, युवा जनशक्तिको उपयोग, र अनुसन्धानको सहज पहुँचको विषयमा गहिरो छलफल भयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिवका अनुसार सम्मेलनले नेपालका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ताहरूलाई एकै मंचमा ल्याएर अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सम्मेलनमा जनसंख्या विषय पर्याप्त समेटिन नसकेको औंल्याउँदै भविष्यमा स्वास्थ्य र जनसंख्या दुवैलाई समावेशी ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।
सम्मेलनमा डा. पवन शर्मा, डा. संगम शाह, डा. राकेश घिमिरे र डा. सुदीप पौडेलले विभिन्न अनुसन्धान पुरस्कार पाए । पत्रकारितामा योगदानका लागि पवित्रा सुनुवारलाई सम्मान गरियो भने पाटन अस्पतालका प्रा. डा. बुद्ध बस्न्यातलाई हेल्थ रिसर्च अवार्ड प्रदान गरियो ।
यसैगरी, २५ वर्ष सेवा पुर्याएका परिषद्का कर्मचारीहरू पुकलाल घिसिङ र लाल बहादुर घिसिङलाई दीर्घसेवा पदक दिइयो ।
सम्मेलनले स्वास्थ्य प्रणाली सुधारका लागि अनुसन्धान र व्यवहारिक कार्यान्वयनबीचको दूरी घटाउने संकेत गरेको छ ।