

काठमाडौं – नेपालको स्वास्थ्य नीति निर्माणमा वैज्ञानिक प्रमाण र अनुसन्धानको आधार बढाउँदै लैजानुपर्ने आवश्यकता प्रस्ट पार्दै काठमाडौंमा ११औं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन सुरू भएकाे छ ।
बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित तीनदिने सम्मेलनको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गरिन् । उद्घाटन मन्तव्यमा उनले अध्ययन र अनुसन्धानको निष्कर्षलाई नीति निर्माणको मेरुदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “अहिले पनि राजनीतिक प्रभावले नीतिहरू निर्धारण गरिरहेको अवस्थामा, वैज्ञानिक प्रमाणमा आधारित नीतिहरू मात्र दीगो र प्रभावकारी हुन्छन् ।”
“हामीले अहिले पनि भोट र राजनीतिक समीकरणका आधारमा नीति बनाइरहेका छौं, तर त्यो प्रवृत्ति परिवर्तन गरी, अनुसन्धानकर्ताको निष्कर्षलाई प्राथमिकता दिनुपर्छ,” मन्त्री भट्टराईले भनिन् ।
यो सम्मेलन ‘स्वास्थ्य, जलवायु र जनसंख्या परिवर्तनः दिगो र समतामूलक भविष्यका लागि उत्थानशील स्वास्थ्य प्रणाली’ भन्ने नाराका साथ सञ्चालन हुँदैछ । परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीका अनुसार, सम्मेलनमा १,००० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सहभागी छन् ।
भारत, चीन, बेलायत, अमेरिका र स्वीटजरल्याण्डलगायत देशका वैज्ञानिक सहभागी यस सम्मेलनमा, जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी चुनौती, स्वास्थ्य सेवामा समान पहुँच, दक्ष जनशक्ति पलायन, मानसिक स्वास्थ्य र रोग नियन्त्रणजस्ता विषयमा गम्भीर छलफल हुने जनाइएको छ ।
कुल २७६ वटा अनुसन्धान सारसंक्षेप प्राप्त भएका मध्ये ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतीकरण छनोट गरिएको छ ।
स्वास्थ्य क्षेत्रको सुधार, जनसंख्याको परिवर्तनशीलता, तथा समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि वैज्ञानिक दृष्टिकोण र प्रमाणमा आधारित बहसलाई प्राथमिकता दिइएको यस सम्मेलनलाई अनुसन्धानलाई नीतिमा रूपान्तरण गर्ने ‘ब्रिज’ को रूपमा हेरिएको छ ।
यस किसिमको सम्मेलनले नीति निर्मातालाई वैज्ञानिक दृष्टिकोणमा सोच्न बाध्य बनाउने र दीगो स्वास्थ्य प्रणाली निर्माणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।