

काठमाडौं – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३४औं स्थापना दिवसको अवसरमा आयोजना गरिने ११औं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएकाे छ । सम्मेलन राजधानीको सोल्टी होटलमा भाेलिदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्षको सम्मेलनको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी मन्त्री विद्या भट्टराईले गर्नेछिन् ।
नेपालसहित भारत, चीन, युके, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू तथा १००० भन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थितिमा सम्मेलन सम्पन्न हुने परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले बताए ।
उनका अनुसार स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धान प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्नु, र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीच सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेका छन् ।
यसपटकको सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेसमेत उनले बताए । साथै, स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने–नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल गरिनेछ ।
कार्यकारी प्रमुख डा. जोशीले सम्मेलनबाट प्राप्त निष्कर्षहरूले दिगो र उत्थानशील स्वास्थ्य प्रणाली विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, सम्मेलनलाई सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार, सञ्चारकर्मी, सहभागीहरू र परिषद्काका सबै कर्मचारीहरूलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ ।