

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रति प्याकेट रू. ७९.१० को दर कायम गरी ठेक्का दिइएको थियो। आयोगका अनुसार यस क्रममा अनियमितता भई सरकारी कोषलाई कुल रू. ५१ लाख ९९ हजार १ सय २० को नोक्सानी पुगेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागरदेवी फर्म, हेटौंडाका सञ्चालक विमलेश साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि आपसी मिलेमतोमा गैरकानुनी लाभ लिएको र राज्यलाई आर्थिक हानी पुर्याएको आरोप लागेको छ । आयोगले सबै आरोपीविरुद्ध बिगो बराबरको क्षतिपूर्ति मागसहित कानुनी कारबाहीको माग गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।