

काठमाडौं- हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वास्थ्य सेवा तथा जनस्वास्थ्यका ज्वलन्त विषयमा गहिरो बहस तथा छलफल गर्न “स्वास्थ्य सबैको सरोकार” भन्ने नाराका साथ संवाद श्रृङ्खला आयोजना गर्ने भएको छ ।
अस्पतालको २०८१ सालको वार्षिकोत्सवको अवसरमा चैत्र २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे, धुम्वाराहीस्थित होटल रमादामा “संवाद श्रृङ्खला–२” कार्यक्रमको आयोजना गरिने भएको हो ।
तीन सत्रमा विभाजित सो कार्यक्रममा नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र नागरिकको स्वास्थ्यमा हुने लगानी सम्बन्धी विषयमा बृहत छलफल हुने जनाइएको छ ।
कार्यक्रमको पहिलो सत्रमा “गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच” बारे छलफल हुनेछ भने दोस्रो सत्रमा “नागरिकको स्वास्थ्यमा लगानी” विषयमा बहस गरिनेछ । तेस्रो तथा अन्तिम सत्रमा पहिलो दुई सत्रको सारांश प्रस्तुत गरिनेछ र प्रमुख मन्तव्य उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहबाट राखिनेछ ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सांसदहरू लगायतको उपस्थिति रहनेछ । संवाद श्रृङ्खलाबाट निस्किएका सुझाव तथा निष्कर्षहरू लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिने अस्पतालले जानकारी दिएको छ ।
ह्याम्स अस्पतालले विगत ७ वर्षदेखि धुम्वाराहीमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सेवा दिँदै आएको छ । अस्पतालले उच्चतम प्रविधि, अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
संस्थापक अध्यक्ष रामशरण भण्डारीका अनुसार, स्वास्थ्य क्षेत्रका जटिल चुनौती समाधान गर्न समाजमा बहसको वातावरण आवश्यक भएकाले ह्याम्सले सामाजिक उत्तरदायित्व बोध गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
