

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विशेष समारोहबीच यस केन्द्रको उद्घाटन गरेका हुन् । मन्त्री पौडेलका अनुसार, यस केन्द्रले केवल उपचार सेवामात्रै प्रदान गर्ने नभई नेपाललाई आयुर्वेद पर्यटनको गन्तव्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
मन्त्री पौडेलले स्थानीय समुदायलाई केन्द्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । “बूढानीलकण्ठमा खुलेको यस आयुर्वेद केन्द्रलाई अन्तर्राष्ट्रिय आयुर्वेद पर्यटन केन्द्र बनाउनु जरुरी छ । स्थानीयहरूको सक्रिय सहभागिता बिना यस्तो पहल सफल हुन सक्दैन,” उनले बताए ।
उनका अनुसार, नेपालमा आयुर्वेद पद्धतिबाट उपचार गराउने प्रवृत्ति बढ्दै गएको छ । विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने भएकाले यस केन्द्रलाई उच्चस्तरीय सेवा दिने संस्थाको रूपमा विकास गर्नुपर्ने उनले सुझाव दिए ।
मन्त्री पौडेलले रोग लागिसकेपछि मात्र उपचार गर्ने होइन, रोग लाग्न नदिने उपायहरूमा ध्यान दिनुपर्ने उल्लेख गरे । उनले भने, “स्वास्थ्य सेवा भनेको बिरामी आएपछि मात्र उपचार गर्ने प्रक्रिया होइन, मानिसलाई बिरामी हुन नदिनु पनि ठूलो चुनौती हो ।”
स्वास्थ्य मन्त्रालयले हाल “निरोगी नेपाली, समृद्ध नेपाल” अभियान अघि बढाइरहेको र यस केन्द्रले त्यसलाई थप मजबुत बनाउने विश्वास मन्त्री पौडेलले व्यक्त गरे । उनले आयुर्वेद र योगलाई जनसाधारणको जीवनशैलीमा समाहित गराउने दिशामा सरकारले विभिन्न पहल गरिरहेको जानकारी गराए ।
यो केन्द्र स्थापना भएसँगै नेपालले आयुर्वेदिक चिकित्सा तथा योगका माध्यमबाट स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्ने अवसर पाएको छ । अन्तर्राष्ट्रियस्तरका सेवा दिन सकिएमा निकट भविष्यमै नेपाल आयुर्वेद र योगको विश्वसनीय गन्तव्य बन्न सक्ने मन्त्री पौडेलको भनाइ छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै स्थानीय तहमा बिस्तार गर्ने बताए ।