

हुम्ला- सरकारले देशभरका किशोरीहरूलाई एचपिभी खोप लगाउने अभियान सञ्चालन गरे पनि हुम्लाका केही क्षेत्रका किशोरीहरू यो खोपबाट वञ्चित भएका छन् ।
विशेष गरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिका बस्तीहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन हुन सकेको छैन। लिमी जाने दुई मुख्य नाका—चार हजार ६७० मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेक—हिमपातका कारण बन्द हुँदा खोप पुर्याउन समस्या उत्पन्न भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रम सम्पर्क व्यक्ति प्रेम पाण्डेका अनुसार जिल्लाभर खोप अभियान सञ्चालन भए पनि लिमीमा भने भ्याक्सिन ढुवानी गर्न नसकिएको कारण अभियान रोकिएको छ । स्वास्थ्यकर्मी लिमीमै भए पनि खोप नपुगेको हुँदा अभियान अघि बढ्न नसकेको उनले बताए ।
गाउँपालिका स्वास्थ्य शाखाले लिमीका लागि आवश्यक भ्याक्सिन बुझी सकेको छ। सुनखानी विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने किशोरीहरू छ जना रहेको शिक्षक विकल तामाङले जानकारी दिए । विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू भने लिमीमा छैनन् ।
अब लिमी क्षेत्रमा एचपिभी खोप आगामी २०८२ सालको वैशाख महिनामा लगाउने तालिका तय गरिएको छ । स्थानीय प्रशासन र स्वास्थ्य शाखाले उक्त कार्यको तयारी गरिरहेको जानकारी गराइएको छ ।