

धनगढी – कैलालीस्थित गेटा अस्पताल गत माघ ६ गतेपछि नेतृत्वविहीन भएको छ । नेतृत्व नहुँदा अस्पतालमा कार्यरत कर्मचारीहरूले दुई महिनादेखि तलबसमेत पाएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कार्तिक अन्तिम साता डा. अशोक श्रीपाईलीलाई गेटा अस्पतालको निर्देशकको जिम्मेवारी दिएको थियो । तर, उनले सो जिम्मेवारी नलिने निर्णय गर्दै मन्त्रालयमा दरबन्दी हेरफेरको निवेदन दिएका थिए । मन्त्रालयले उनलाई पुनः भेरी अस्पतालमै फिर्ता पठाएपछि गेटा अस्पताल नेतृत्वविहीन बनेको हो ।
काँग्रेस नेताहरूको दबाबमा नेतृत्व परिवर्तन
२०७९ असारमा डा. प्रमोद जोशी गेटा अस्पतालको निर्देशक नियुक्त भएका थिए । उनी काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक निकट मानिन्छन् । डा. जोशी नेतृत्वमा रहँदा अस्पतालमा अस्थायी दरबन्दी स्वीकृतबाहेक अन्य ठूला काम हुन सकेन । हाल उनी स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव भइसकेका छन् ।
उनको स्थानमा निमित्त निर्देशक बनेका डा. बिप्लव सापकोटाले अस्पतालका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढाएका थिए । उनले झन्डै ७२ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गर्दै अस्पताललाई पूर्ण रूपमा सञ्चालनका लागि तयार बनाएका थिए । तर, अहिले अस्पताल नेतृत्वविहीन बन्न पुगेको छ ।
कर्मचारी तलबविहीन, मन्त्रालय निर्णय गर्न असमर्थ
गेटा अस्पतालको नेतृत्वविहीन अवस्थाले त्यहाँ कार्यरत कर्मचारीहरू दुई महिनादेखि तलब पाउन सकेका छैनन् । स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समेत एक्लै निर्णय गर्न नसक्ने अवस्थामा छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु देउवा, भतिजा प्रकाश देउवा, र सेती प्रादेशिक अस्पतालका चिकित्सक प्रदीप मिश्रले अस्पतालको नेतृत्व आफ्ना अनुकूल बनाउन हरसम्भव प्रयास गरिरहेका छन् । तर, कोही चिकित्सक गेटा अस्पतालको निर्देशक बन्न इच्छुक छैनन् ।
अस्पताल सञ्चालनको तयारी भए पनि नेतृत्व अभाव
गेटा अस्पताल सञ्चालनको तयारीमा रहेको छ । इमर्जेन्सी, इन्डोर बेड, अपरेशन थ्रिएटर, अक्सिजन प्लान्ट, भेन्टिलेटर, आईसियू लगायत सबै संरचना तयारी अवस्थामा छन् । तर, नेतृत्व अभावका कारण अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।