

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयमार्फत उनीहरूको जिम्मेवारी परिवर्तन गरेका हुन् ।
नयाँ जिम्मेवारी अनुसार, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई नियुक्त गरिएको छ । यसअघि महाशाखाको नेतृत्व सम्हालिरहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रूपमा सरुवा गरिएको छ । डा. झा यसअघि नारायणी अस्पतालमा कार्यरत थिए भने त्यसअघि कोशी अस्पतालका निर्देशक थिए ।
त्यस्तै, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ । बाल रोग विशेषज्ञ डा. घिमिरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत थिइन् ।
डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा सरुवा गरिएको छ ।
११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि नयाँ जिम्मेवारी दिइएको छ । प्रमुख बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएको छ भने कार्डियोलोजिस्ट डा. मनोज कोइरालाको दरबन्दी कोशी अस्पतालमा कायम गरिएको छ । हाल कोइरालालाई काजमा पोखरा पठाइएको छ ।
अन्य सरुवा हुनेमा मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेल (कोशी अस्पताल), प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापति (नारायणी अस्पताल), प्याथालोजिस्ट निलम वैद्य (भरतपुर अस्पताल) र डेन्टल सर्जन बन्दना खनाल (कोशी अस्पताल) रहेका छन् ।