काठमाडौं – देशकै पुरानो वीर अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै दुई सिफ्टमा अपरेशन सेवा सञ्चालन गरेको छ । नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य शल्यक्रियाहरू अब बिहान र दिउँसो दुवै सिफ्टमा सञ्चालन हुने भएका छन् ।
अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार धेरै बिरामीलाई सहज सेवा प्रदान गर्नका लागि यो व्यवस्था गरिएको हो । यसअघि अस्पतालमा मात्र एक सिफ्टमा अपरेशन सेवा उपलब्ध थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । सोही अनुरूप वीर अस्पतालले कार्ययोजना बनाई सेवा विस्तार गरेको जनाएको छ ।
यसअघि ओपीडी र सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै आएको वीर अस्पतालले अब मात्रै अपरेशन सेवामा दुई सिफ्ट लागू गरेको हो ।
“अहिले अत्यधिक बिरामी चाप भएका केही सेवाहरू दुई सिफ्टमा सञ्चालन गरिएका छन्। क्रमशः अन्य सेवालाई पनि सोही ढाँचामा लैजाने योजना छ,” डा. गौतमले भने ।
उनका अनुसार, अस्पतालको आन्तरिक जनशक्ति र स्रोत-साधनकै व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको छ । अपरेशन सिफ्ट बढेपछि बिरामीलाई सहजता हुने र धेरैले उपचार सेवा लिन सक्ने उनले बताए । निमित्त निर्देशकका रूपमा नियुक्त भएको एक साताभित्रै उनले नयाँ सेवा सुरु गर्ने घोषणा गरेका थिए, जुन अहिले कार्यान्वयनमा आएको छ ।
