काठमाडौँ- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पहिलो पटक मिनिमल इनभेजिभ कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट सफल मुटु शल्यक्रिया सम्पन्न भएको छ ।
महाराजगन्जस्थित मनमोहन सेन्टरका कार्डियोथोरासिक तथा भास्कुलर (सिटिभिएस) विभागीय प्रमुख एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो ।
एमआइसिएबिजी प्रविधि मुटुको नसा अवरुद्ध (ब्लक) हुँदा सानो प्वाल पारेर गरिने आधुनिक उपचार विधि हो । परम्परागत रूपमा मुटुको ब्लक खोल्न छाती पूरै चिर्नुपर्ने भए पनि यस प्रविधिमा करङको बीचबाट सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ । यसअघि १२ सेन्टिमिटरको प्वाल पारेर हड्डी काटेर शल्यक्रिया गरिन्थ्यो भने अहिले केवल पाँच सेन्टिमिटरको प्वाल पारेर नै सम्भव भएको छ।
डा. अनिल भट्टराईले नेपालमा पहिलो पटक एमआइसिएबिजी प्रविधिको प्रयोग गरिएको जानकारी दिए । उनका अनुसार यो प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई धेरै फाइदा पुग्छ । पहिले मुटुलाई पूर्ण रूपमा बन्द गरेर शल्यक्रिया गरिन्थ्यो, जसले अन्य अङ्गलाई असर गर्न सक्थ्यो । तर, नयाँ प्रविधिमा मुटु बन्द गर्नु नपर्ने भएकाले रगत कम आउँछ, सङ्क्रमणको जोखिम घट्छ, र बिरामी चाँडै अस्पतालबाट डिस्चार्ज हुन सक्छ । साथै, यस प्रविधिबाट शल्यक्रिया गर्दा खर्च पनि कम लाग्ने उनले बताए ।

डा. भट्टराईका अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ४५ वर्षीय पुरुषमा पहिलो पटक यो प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले नेपालमै पहिलो पटक यो प्रविधिबाट शल्यक्रिया गरिएको पुष्टि गर्दै बिरामीको उपचार खर्च कम लाग्ने जानकारी दिए ।
डा. गजुरेलका अनुसार बिरामीको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढी मुटुको नसा बन्द भएको पत्ता लागेको थियो । त्यहाँ स्टेन्टिङ गरिएको थियो, तर पुनः नसा बन्द भएपछि नेपालमा आएर नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको हो ।
अहिले बिरामीको अवस्था सामान्य रहेको र आइसियुबाट वार्डमा सारिएको जानकारी अस्पतालले दिएको छ ।








