कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिकाको थामकोट सिंगो गाउँमा इन्फ्लुएन्जाका बिरामी भेटिएका छन । एकैदिन १५ देखि २५ जनाको संख्यामा बिरामी जिल्ला अस्पतालमा भर्ना भएपछि अस्पतालले थामकोट र अन्य बस्तीमा चिकित्सक सहितको टोली शुक्रवार थाम र कायाँगडा बस्तिमा चेकजाँच तथा उपचार शिविर संचालन गर्दा सिंगो गाउँ नै इन्फ्लुएन्जा संक्रमित भएको उपचारमा संलग्न डा. दर्शनप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
धमाधम बिरामी अस्पताल भर्ना भरीभराउ हुन थालेपछि थामाकोट गाउँमा चेकजाँच तथा उपचार गर्न बस्तिमै छिरेको डा. पाण्डेले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालय र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा चिकित्सक सहितको टोलीले शुक्रवार एकैदिन सयभन्दा बढी बिरामी फेला परेका छन् ।
‘गाउँमा अवस्था जटिल छ,’ उपचारमा संलग्न डा. दर्शन पाण्डेले भने, ‘ प्रदेशबाट थप औषधि र किट माग गरेका छौं ।’ बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।