काठमाडाैं- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमाले हेमोफिलिया रोगको औषधि सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले हेमोफिलिया रोगको औषधि नि शुल्क भनेको पनि स्मरण गराइन् ।
‘मानवअधिकार र नेपालको संविधानले नै सुनिस्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्नो नागरिकको जीवन बचाइदिन सभामुखमार्फत जोडदार माग गर्दछु,’ उनले भनिन् । कानुनमा समेत स्पष्ट व्यवस्था हुँदासमेत त्यसको कार्यान्वयन हुन नसक्दा जनताले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताइन् ।
हेमोफिलियाबाट पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्यु भएको उनले बताइन् । नेपालमा ४ हजार ९ सय ३७ जना हेमोफिलिया रोगी रहेको उनले जानकारी दिइन् । ‘बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन,’ उनले भनिन् ।
‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली, २०७७ ले समेत दश वर्गका अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटेर यो रोगको रोगीले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउने भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि एकातिर राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले असह्य पीडा भोगिरहेका छन् भने, अर्कोतिर बिरामीको अपाङ्गता र मृत्युदर पनि बढिरहेको अवस्था छ,’ उनले भनिन् ।
हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्नो नागरिकको जीवन बचाइदिन उनले आग्रह गरिन् ।