

जनकपुरधाम – मधेश प्रदेशको रौतहट जिल्लाको गरुडा नगरपालिकामा सञ्चालित १० वटा निजी अस्पताल नियमविपरीत सञ्चालनमा रहेको खुलासा भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा भएको अनुगमनपछि यी अस्पतालहरू कानुनी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको हो ।
मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार अस्पतालहरूले अनिवार्य अनुमति नलिईकन वा अनुमति लिएका भए पनि वर्षौंदेखि नवीकरण नगरी स्वास्थ्य सेवा प्रदान गरिरहेका थिए । साथै, केही अस्पतालले तोकिएकोभन्दा बढी शय्या राखेर सञ्चालन गरिरहेको भेटिएको छ, जुन कानुनी रूपमा अवैध मानिन्छ ।
मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गर्न नपाइने भन्दै अनियमित रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई तत्काल सेवा बन्द गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै पुनः सञ्चालन गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य सेवा प्रदान गर्ने नाममा कानुनी दायराबाहिर गएर सञ्चालन गरिएका अस्पतालहरूका कारण आम नागरिक मर्कामा पर्ने अवस्था सिर्जना भएकाले प्रदेश सरकारले आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।