
काठमाडौँ – १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् ।
सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए ।
नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको बताए। लक्षित समूहका किशोरीहरुलाई निःशुल्क उपलब्ध गराइएको बताए ।
उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताए। कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको बताए ।
मन्त्री पौडेलले खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गरे । उनले यो खोप पुरुषहरुलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको उल्लेख गरे ।
उनले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताए ।
उनले भने, ‘हालसम्म उपलब्ध सूचनाहरुको आधारमा तथ्यांक र प्रमाणहरुको आधारमा कुनै साइट इफेक्ट पर्ने कुरा अहिलेसम्म बुझिएको छैन । यो पूर्ण सुरक्षित छ भन्ने नै छ । पुरुषहरुलाई पनि दिने गरिएको छ । यसमा अध्ययन गरिरहेका छौँ । हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएका कारणले सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति हुनसक्छ कि त्यसको निम्ति गृहकार्य गरिरहेका छौँ ।’