नुवाकोट- दर्ता नगरी सञ्चालन भएका दुईवटा अस्पताल बन्द गरिएको छ। अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले तत्काल सिल लगाएर अस्पताल बन्द गरिदिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए।
उनका अनुसार, तादी-४ सातविसेमा स्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नगरी सञ्चालन भइरहेको पाइएपछि अस्पताललाई सिल लगाएर २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, पञ्चकन्या गापा-२ सहरेटारमा रहेको माइलक डायग्नोस्टिक अस्पताल पनि दर्ता नगरी सञ्चालन गरिएको पाइएको छ, जसलाई बन्द गरिएको छ।
संयुक्त बजार अनुगमन टोलीले मंगलबार नुवाकोटको पूर्वी भेगका तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाका विभिन्न बजारमा अस्पताल, किराना पसल, भेटेरिनरी र खाद्यान्न सप्लायर्सको स्थलगत अनुगमन गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको टोलीले ११ वटा अस्पताल र पसलहरूको अनुगमन गरेको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ।
अनुगमनमा तादी गापा-३ खरानीटार, तादी-४ सातबिसे, दुप्चेश्वर-६ र पञ्चकन्या गापा-२ सहरेटारमा रहेका तीनवटा अस्पताल, चारवटा किराना र खाद्यान्न पसल, र चारवटा भेटेरिनरी पसललाई अनुगमन गरिएको हो।