वीरगञ्ज- म्याग्नस फर्माले १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक स्टेराइल प्लान्ट निर्माण सम्पन्न गरेको छ। कम्पनीले आगामी वैशाखदेखि औषधि उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ ।
प्रबन्ध निर्देशक शुधिर प्रकाश मास्केका अनुसार उक्त प्लान्टबाट क्रिटिकल केयर, न्युरोलोजी, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया सम्बन्धी औषधिहरू उत्पादन गरिनेछ । प्लान्ट निर्माणमा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मापदण्डहरू अपनाइएको छ ।
फर्माका क्वालिटी प्रमुख कमलेश कुमार यादवका अनुसार यो प्लान्ट नेपालमै पहिलो स्टेराइल उत्पादन केन्द्र हुनेछ, जसमा प्यारेन्टल, इन्जेक्टेबल, लियोफिलाइज्ड पाउडर तथा आँखा र नाकका औषधिहरू निर्माण गरिनेछ ।
फर्माका अध्यक्ष सन्दिप तुल्सियानले “इन्जेक्टेबल औषधिहरू नेपाली बजारको मागलाई पूरा गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको” बताएका छन् । वित्तीय निर्देशक विनित लोहियाका अनुसार प्लान्ट र वेयरहाउस गरी कुल लगानी १ अर्ब रुपैयाँ नाघिसकेको छ ।
म्याग्नस फर्माले २००९ देखि औषधि उत्पादन गर्दै आएको छ। हालसम्म कम्पनीले २०७ प्रकारका ओएसडी औषधिहरू उत्पादन गरिसकेको र नेपाली बजारका लागि ५ नयाँ औषधिहरू पहिलो पटक उपलब्ध गराएको जनाएको छ ।
कम्पनीका अनुसार नयाँ प्लान्ट सञ्चालनमा आएपछि औद्योगिक विस्तार, औषधि निर्यात वृद्धि र रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ ।