नेपालगन्ज– भेरी अस्पताल नेपालगन्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबिच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र शाहले बताए ।
उनले भेरी अस्पतालमा सबै नमूनाको परीक्षण सेवा नभएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग परीक्षणका लागि सहकार्य गरिएको बताए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीका अनुसार मानव शरीरमा रोग छ, छैन पुष्टि गर्ने, रोगको संवेदनशीलता निर्धारण गर्ने, उपचार तथा रोकथामपछि सुधार भए–नभएको मापन गर्ने र विभिन्न रोगका कारण पत्ता लगाउनका लागि नमूना परीक्षण गर्ने गरिन्छ ।