काठमाडौं- क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधी पाउने बताए ।
काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधी वितरण हुने उनको भनाइ छ ।
उनले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायत संस्थाहरुले औषधी उपलब्ध गराएपछि थप सहज भएको बताए ।
उनले भने, ‘‘चारवटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधी प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ । यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढंगबाट लक्षित समूहसम्म पुर्याउने काम हुन्छ ।’’
उनले औषधी वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी दिए ।
संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरुको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधीको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधी हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो चरणको औषधी प्राप्त गरेको थियो ।
बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधी दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधी खरिद गरेको हो । नेपाललाई उक्त औषधी निःशुल्क उपलब्ध गराइएको हो ।