काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार वीरगन्जका विभिन्न निजी अस्पतालहरूको छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा इजाजत बिना सञ्चालनमा रहेको एक अस्पताललाई बन्द गर्न निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले वीरगन्ज महानगरपालिकामा रहेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालि गरी सात अस्पतालको निरीक्षण गरेका थिए ।
अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर को सञ्चालनका लागि आवश्यक कानूनी कागजात नपाइएपछि मुख्यमन्त्री सिंहले उक्त अस्पताल बन्द गर्न पत्र काटेका छन् । अनुगमन टोलीमा सहभागी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार, सो अस्पतालसँग कुनैपनि वैधानिक इजाजत नदेखिएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।

त्यस्तै, इजाजत पत्र नविकरण नगरेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल लाई आवश्यक कागजात नवीकरण गरी प्रदेश स्वास्थ्य मन्त्रालयमा पेश गर्न लिखित निर्देशन दिइएको छ ।
अनुगमनपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘वीरगन्जका निजी अस्पतालहरूको सेवा सम्बन्धी व्यापक जनगुनासो आएको थियो । त्यसैलाई ध्यानमा राख्दै मैले स्वयं अनुगमन गरेको हुँ ।’







