काठमाडौं- मुलुककै पुरानो अस्पतालमध्ये एक, वीर अस्पतालले आकस्मिक कक्षको विस्तारको कामलाई तीव्रता दिएको छ । हालको साँघुरो र व्यवस्थापनमा चुनौतीपूर्ण आकस्मिक कक्षलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार काम अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनपछि आकस्मिक कक्ष विस्तार प्रक्रिया अघि बढाइएको हो। अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार हालको ५५ शय्या रहेको आकस्मिक कक्षलाई ७५ शय्यामा विस्तार गरिनेछ । अत्यधिक बिरामीको चापका कारण अहिले उपलब्ध शय्या प्रयाप्त नहुँदा व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।
डा. गौतमका अनुसार हालको बहिरंग विभागको भुइँतलाको पछाडिको भागलाई आकस्मिक कक्ष विस्तारका लागि प्रयोग गरिनेछ । त्यसका लागि एआरटी कक्ष, स्टोर, क्षयरोग उपचार गर्ने डट्स क्लिनिक लगायतका सेवा कक्षहरूलाई अन्यत्र सार्ने कार्य भइरहेको छ। स्थान खाली गरेपछि तत्काल निर्माण तथा व्यवस्थापन कार्य अघि बढाइने छ ।
‘अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी आकस्मिक कक्षमा आउने गरेका छन् । तर, ५० शय्या मात्र हुँदा एकै शय्यामा दुई जना बिरामी राख्नुपर्ने स्थिति छ,’ आकस्मिक कक्ष प्रमुख डा. सुरेश नेपाल भन्छन्, ‘विस्तारित कक्षपछि बिरामीलाई उपचारमा सहजता हुनेछ भने चिकित्सकहरूलाई पनि राम्रो वातावरण मिल्नेछ ।’
एक दशकअघि पनि कक्ष साँघुरो हुँदा ट्रायज सिस्टम लागू गर्दै विस्तार गरिएको थियो। तर, बढ्दो बिरामी चापले पुनः व्यवस्थापनको आवश्यकतामा जोड दिइएको छ । अस्पताल प्रशासनका अनुसार विस्तार कार्य सम्पन्न भएपछि आकस्मिक सेवामा उल्लेखनीय सुधार आउनेछ, जसले बिरामीको उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।