काठमाडाैं- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधाममा गैरकानुनी रूपमा सञ्चालित निजी अस्पतालहरूको अनुगमन गर्दै एउटा नयाँ विवाद सार्वजनिक गरेका छन् । हालै उनले अस्पताल र एम्बुलेन्स चालक बीचको कमिसनको सञ्जालको खुलासा गरेका छन् ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्रालय र अन्य सरकारी निकायहरूको टोलीले अनुगमन गर्दा जनकपुरका प्रमुख अस्पतालहरू मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको थियो । यस क्रममा, एम्बुलेन्स चालकलाई बिरामी लाँदै गर्दा अस्पतालका सुरक्षागार्डले कमिसनको कुरा गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यस भिडियोमा, मुख्यमन्त्री सिंहले एक एम्बुलेन्स चालकलाई कुरा गर्दै, “गोदावरी अस्पतालले राम्रो कमिसन दिन्छ कि दिँदैन ?” भनेर प्रश्न गरेका थिए । यसबारे सुरक्षागार्डले यस विषयमा स्पष्ट कुरा गर्नुपर्ने बताएका थि ए। यो संवादले अस्पताल र एम्बुलेन्स चालक बीचको अनौपचारिक कमिसन सञ्जालको रहस्यलाई बाहिर ल्याएको छ । यो घटनाले स्वास्थ्य सेवा प्रदायकहरूको पारदर्शिता र नैतिकता बारेमा ठूलो प्रश्न उठाएको छ ।
अनुगमनको क्रममा, जनकपुरका चारवटा अस्पतालहरू बन्द गरिएका छन् । यिनमा जनक मेमोरियल अस्पताल, जनकपुर गोदावरी अस्पताल, मोडल अस्पताल र कृष्णा अस्पताल समावेश छन् ।







