काठमाडाैं- नेपाल सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर अभियान सञ्चालन गरे पनि केही जिल्लामा धार्मिक विश्वासका कारण किशोरीहरू खोप लगाउन अस्वीकार गर्ने समस्या देखिएको छ । सिन्धुली र चितवनमा विशेष गरी केही धार्मिक समूहले खोप अभियानमा अवरोध पुर्याएका छन् ।
सिन्धुलीको दुधौली नगरपालिकाका केही वडामा ‘सच्चाइ’ र ‘जोराइ’ नामका धार्मिक समूहका परिवारहरूले आफ्ना छोरीहरूलाई खोप लगाउन अस्वीकार गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप सुपरभाइजर पुष्प पन्तका अनुसार खोप अभियानको लक्ष्यअनुसार ४ प्रतिशत किशोरीहरूले खोप लगाउन अस्वीकार गरेका छन्, जसमा मुख्य रूपमा धार्मिक विश्वासकै कारण प्रभाव परेको छ ।
नगरपालिकाले जिल्ला प्रहरी, नगर प्रहरी तथा जनप्रतिनिधिहरूसँग समन्वय गर्दै यी परिवारलाई सम्झाउने प्रयास गरेको छ । सम्झाइबुझाइपछि ३२ जना किशोरीले खोप लगाएका छन्, तर अझै केही परिवारले असहमति जनाएका छन् । दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीका अनुसार, ‘सच्चाइ’ र ‘जोराइ’ धर्म क्रिश्चियन धर्मसँग सम्बन्धित छन्, र तिनका अनुयायीहरूका बीच खोपबारे गलत धारणा फैलिएको देखिन्छ । नगरपालिकाले थप छलफल गर्दै किशोरीहरूलाई खोप कार्यक्रममा सहभागी गराउने प्रयास गरिरहेको छ ।
चितवनमा पनि केही किशोरीहरू धार्मिक विश्वासकै कारण खोप लगाउन अस्वीकार गर्दै आएका छन् । चितवनको भरतपुर महानगरपालिकामा रहेको एउटा मदरसामा अध्ययनरत २३ जना किशोरीका परिवारले खोप लगाउन मानेका थिएनन् ।
जनस्वास्थ्य कार्यालय र स्थानीय जनप्रतिनिधिहरूले पहल गरेपछि १९ जना किशोरीले खोप लगाए पनि बाँकी ४ जनाका परिवारले स्वीकृति नदिएका कारण उनीहरू खोप कार्यक्रममा सहभागी भएनन् ।
सिन्धुली र चितवन दुवै जिल्लामा स्थानीय तह, प्रहरी प्रशासन, तथा स्वास्थ्यकर्मीहरू जनचेतना अभियान सञ्चालन गर्दै खोप अभियानलाई पूर्णता दिने प्रयासमा जुटेका छन्।