
काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले विपन्न नागरिकका लागि छुट्याउनुपर्ने शैयामा निजी अस्पतालहरुले आफन्तको उपचार गराउने गरेको दावी गरेका छन् ।
ललितपुरको स्टार अस्पतालमा सुरु भएको ब्लड बैंकको उद्घाटन गर्दै मन्त्री यादवले विपन्न नागरिकका नाममा हुने गरेको विकृति अन्त्य गर्न आफु लागिपरेको पनि बताएका छन् ।
‘सबै निजी अस्पतालले गरिब र विपन्न नागरिकका लागि १० प्रतिशत शैया उपलब्ध गराउनेपर्ने व्यवस्था भएपनि त्यसको दुरुपयोग भएको रिपोर्टहरु आएका छन् । त्यसलाई नियन्त्रण गर्न लागेका छौं । अब सबै अस्पतालले साप्ताहिक रुपमा निशुल्क शैया प्राप्त गरेका बिरामीहरुको पूरा विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने व्यवस्था गरिनेछ ।’ मन्त्री यादवको भनाइ छ ।
त्यस्तै मन्त्री यादवले कमसल औषधिका कारण चिकित्सकको क्षमतामाथि प्रश्न उठ्ने गरेको भन्दै त्यस विषयमा अध्ययन गर्न पनि मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा औषधि उद्योग र औषधिको गुणस्तर परीक्षण गर्न उच्चस्तरीय अनुगमन समिति बनाइएको बताए ।

मन्त्री यादवले निजी अस्पतालहरुका कारण स्वदेशमै उपचारको सुविधा बढेर विदेश जाने बिरामी र पैसा देशमै रहने गरेको बताए ।
कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले सरकारका कठिन मापदण्ड र नियमहरुका कारण निजी अस्पतालहरु ऋणमा फस्ने गरेको गुनासो गरे । मापदण्डका नाममा स्वास्थ्यका उद्योगी व्यवसायी टिक्नै नसक्ने व्यवस्था नगरिदिनपनि उनले मन्त्री यादवसमक्ष माग गरे ।

स्टार अस्पतालले प्रतिदिन ३०० युनिट रगत भण्डारण र वितरण गर्नसक्ने क्षमताको ब्लड बैंक सुरु गरेको हो । कोभिड महामारीका बेला उत्कृष्ठ सेवा दिएर चर्चा कमाएको स्टार अस्पतालसँग १ सय शैयाको क्षमता रहेको छ ।