चितवन, २२ कार्तिक । चितवनस्थित भरतपुर अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले पदभार ग्रहण गरेका छन् ।
बुधबार एक कार्यक्रमका बीच उनले अस्पतालमा पदभार ग्रहण गरेका हुन् । मङ्गलबारको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. तिवारीलाई दोस्रोपल्ट नियुक्त गरेको हो ।
मन्त्रालयले एघारौं तहका प्रमुख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट डा. तिवारीलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको हो ।
भरतपुर महानगरपालिका १५ मंगलपुर चितवन घर भएका उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । त्यसअघि उनी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए ।
डा. तिवारीले मङ्गलबार नै पत्र बुझेका थिए । पत्र बुझेको भोलिपल्ट बुधबार पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण गरेसँगै उनले, सेवालाई गुणस्तरीय, छिटो-छरितो र अझै व्यवस्थित बनाउन थुप्रै प्रयासहरू गर्ने बताए । सेवा विस्तार, कर्मचारी थप गर्ने लगायत केन्द्रीय र प्रदेश सरकारसँग बजेट माग गरी अस्पतालको समग्र विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण लगतै नवनियुक्त तिवारीलाई एक कार्यक्रमका बीच भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललगायत अस्पतालका कर्मचारीहरूले भव्य स्वागत गरेका थिए ।
यसअघि सोही अस्पतालको ४० औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४७ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी विसं २०७६ साल असार १९ गतेदेखि ०७७ साल भदौ २८ गतेसम्म मेसु बनेका थिए । उनले विश्व व्यापी रूपमा फैलिएको कोरोना कहरको बेला समेत आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हालेका थिए ।
यसअघि अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् ।
उनको कार्यकालमा अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भइरहेको थियो ।
बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा उनले आफ्नो ध्यान केन्द्रित गरेका थिए ।
अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थप गर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकासमा प्रा।डा।पौडेलले जोड दिएका थिए ।
नवनियुक्त मेसु डा तिवारीका पदभार ग्रहण तथा अस्पतालमा स्वागत कार्यक्रम तस्बिरमा