चितवन, १५ कार्तिक । चितवनमा झन्डै १२ सय जनामा डेङ्गु संक्रमण देखिएको छ ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म जिल्लामा १६ हजार १२ जनामा परीक्षण गरिएको मध्ये १ हजार १ सय ९७ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसरी हेर्दा परीक्षण गरिएको कुल सङ्ख्याको ७ दशमलव ४८ प्रतिशतमा संक्रमण देखिएको हो ।
यसरी डेङ्गु संक्रमित हुनेमा महिलाभन्दा पुरूष बढी छन् । १ हजार १ सय ९७ जना डेङ्गु संक्रमित मध्ये ६ सय ९ जना पुरूष र ५ सय ८८ जना महिला रहेका छन् । यसरी संक्रमित हुनेमा चितवनसहित अन्य जिल्लाका समेत छन् ।
जिल्लामा परीक्षण गरिएको मध्ये संक्रमित हुनेमा ८ सय ३१ जना चितवन जिल्लाका छन् । २ सय ४३ जना अन्य जिल्लाका रहेका छन् । त्यस्तै, ठेगाना नखुलेको १ सय २३ जना छन् । संक्रमित मध्ये अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुन स्थानीय तहमा कति जनामा संक्रमण देखियो ?
साउनदेखि हालसम्म जिल्लाको भरतपुर महानगरपालिकामा ४ सय ६० जनामा डेङ्गु संक्रमण देखिएको छ । त्यस्तै, रत्ननगर नगरपालिकामा १ सय ३० जनामा, राप्ती नगरपालिकामा ५१ जनामा, खैरहनी नगरपालिकामा १ सय २३ जनामा, माडी नगरपालिकामा १४ जनामा र कालिका नगरपालिकामा २३ जनामा संक्रमण देखिएको छ । त्यस्तै, जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कसरी लाग्छ, डेङ्गु रोग अनि कसरी बच्ने ?
डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गुभएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै संक्रमणबाट जोगिने उत्तम उपाय हो ।