काठमाडौं, २ कात्तिक । बागमती प्रदेशले बोलपत्रमार्फत खरिद गरिने औषधिको गुणस्तर मापनका लागि ‘छड्के’ गर्ने भएको छ ।
प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ठेक्कामार्फत खरिद हुने औषधिको एपीआई र एक्सीप्लेन्ट्स जाँच गर्नका लागि अधिकारी खटाउन सकिने भन्दै त्यसको सहजीकरणका लागि सम्बन्धित पक्षलाई जानकारी गराएको छ ।
केन्द्रले बोलपत्र स्वीकृत भएका कम्पनीको उत्पादन प्रकृयामा एपीआई र एक्सीलेन्ट्स जाँच गर्ने बताएको छ । औषधि उत्पादनमा एपिआई भन्नाले एक्टिभ फर्मास्युटिकल्स इण्डिग्रेन्ट्स र एक्सिप्लेन्ट्स भन्नाले एक्टिभ इण्डिग्रेन्ट्सको क्यारियरका रुपमा काम गर्ने पदार्थहरु हो ।
एपीआई र एक्सिप्लेन्ट्सको जाँच गरेर औषधिको गुणस्तर र प्रभावकारिताका जान्ने बागमति प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रले निर्णय गरेको हो ।
सरकारी कार्यालयमा ठेक्का पार्नका लागि अति कम मूल्यमा ठेक्का हाल्ने विकृति बढेसँगै कम गुणस्तरका औषधि बिक्रि हुने खतरा बढेको बेलामा बागमती प्रदेशले अपनाएको विधि संघीय सरकारले पनि लागू गर्न आवश्यक छ ।
बागमति प्रदेशको निर्णयको विज्ञहरुले स्वागत गरेका छन् ।
औषधि विज्ञ राजन बहादुर राउत भन्छन्, ‘ टेण्डर खरिद नियमावलिमा पनि ‘गुणग्राह्य’ मध्य सबैभन्दा सस्तो सामग्री खरिद गर्ने प्रावधान छ। तर यो ‘गुणग्राह्य’ पक्षलाई सबैले बेवास्ता गर्दछन। बाग्मति प्रदेश सरकारको निर्णय स्वागतयोग्य छ। काठमाण्डौ महानगरले पनि ६ वटा रिटेल फार्मेसी सञ्चालन गर्नुको सट्टा एउटा सुबिधा सम्पन्न गुणस्तर परिक्षण प्रयोगशाला सञ्चालन गर्न सके महानगरवासीलाई गुणस्तरिय प्रभावकारी औषधि सरल मूल्यमा उपलब्ध हुनेथियो र यसको प्रभाव मुलुक भरी पुग्नेथियो ।’