काठमाडौं, २९ भदौ । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकलाई आक्रमण गर्ने चारजना विरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई आदेश दिएको छ ।
सो अनुरुप चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीलाई आक्रमण गर्ने रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
गएको साउन २५ गते डेङ्गु लागेका हेटौंडा–१२ का राजेश प्रधानको मृत्यु भएपछि सो विषयलाई लिएर उनका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार कुटपिट गरेका हुन् ।
कुटपिटको विरोधमा शुक्रबार हेटौंडाका सबै चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । यता, नेपाल चिकित्सक संघले पनि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै सो समयभित्र दोषीमाथि कार्वाही नभए देशैभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको छ ।