काभ्रेपलाञ्चोक : ‘मुकेश उठ, यी हेर त यो के हो? बोल त बाबु, तिमी बोल्नुपर्छ।’ मुकेशकी आमा मीरा कायस्थले स्याहार गर्ने क्रममा यसरी बोलाइरहेका थिइन्। बनेपा नगरपालिका–८ चैतन्यरोड छेउको घरमा रहेको दोस्रो तल्लामा दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थलाई आमा मीरा र बुबा कृष्णमानले यसरी नै स्याहार्दै आएको करिब १३ वर्ष भयो।
मुकेशले बोलाउँदा मुख चलाउने, सामान्य आवाज निकाल्ने र केही खेलौना दिँदा समात्ने गर्नेबाहेक अन्य प्रतिक्रिया दिन सक्दैनन्। त्यसैले उनलाई खाना खुवाउने, कपडा फेर्ने, उठाउने लगाउनेलगायतका काममा मीरा र कुष्णमान चौबिसै घण्टा खटिरहेका छन्।
दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो। त्यही बेला ०६२ चैत २६ गते काभ्रेपलाञ्चोकका भिमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए। उक्त घटनाबाट आक्रोसित काभ्रेवासीले आन्दोलन उत्रिँदा १५ वर्षीय मुकेश पनि उत्रिएका थिए। यही बेला सुरक्षाकर्मीले बनेपामा चलाएको गोलीबाट ०६२ चैत २७ मा मुकेश घाइते भए। सोही दिनदेखि मृत्यसँग लड्दै ओछ्यानमा दिनचर्या बिताउँदै छन्। गोली लाग्दा १५ वर्षको उनी २७ वर्षका भए। तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रष्ट देखिन्छ। घाइतेपछिको केही समय अस्पतालमा बिताएको उनी अहिले प्रायः घरमा नै रहन्छन्। सारोगाह्रो भएको अवस्थामा मात्र अस्पताल लाने गरिएको छ।
‘पहिलाभन्दा थोरै सुधार भएको छ,’ मुकेशकी आमाले छोराको स्वास्थ्यबारे भनिन्, ‘आफैले त केही गर्न सक्दैन, सबै हामीले नै गर्नुपर्छ।’ मुकेशको उपचारका निम्ति सरकारले एक अहेबका साथै औषधि र एक जना हेरचाह गर्ने(कुरुवा)को व्यवस्था गरेको छ। तर, सरकारले गरेको त्यति सहयोगले मात्रै मुकेशको लागि अपुग भएको मीराको भनाइ छ। उनले भनिन्, ‘कुरुवाले आठ घण्टा मात्र हेर्छन्, उसलाई चौबिसै घण्टा हेरचाह गर्नु पर्छ।’
यस्तो अवस्थामा परिवारलाई ग्राह्रो भएको उनको गुनासो छ। ‘मुकेशलाई ह्विल चियरमा राख्नलाई नै तीन जना मान्छे चाहिन्छ,’ उनले भनिन्, ‘उसलाई फकाईरहनुपर्ने हुन्छ।’ छोराको हेरचाहमा खटिनुपर्ने भएकाल व्यापार व्यवसाय गर्नुपर्ने समय नै सबै त्यसैमा खर्चिरहनुपरेको कृष्णमान बताउँछन्।
परिवारको आग्रह
घाइते मुकेशका लागि थप व्यवस्था गरिदिन उनको परिवारको आग्रह गरेका छन्। ‘बिरामीलाई एकै ठाउँमा मात्रै राख्दा राम्रो नहुने रहेछ।’ मिराले भनिन्, ‘बाहिर हावामा फ्रेस गराउनुपर्नेमा जनशक्ति पुग्दो नहुँदा त्यो गर्न सकिरहेका छैनौ।’ जनशक्ति अपुग भएका कारण सधैंभरि एउटै कोठामा मात्रै कोच्याइराख्नु पर्ने अवस्था रहेको मीराको गुनासो छ।
परिवारले बाहिर वातावरणसँग घुलमिल हुने वातावरण बनाउनु पर्ने, पुनस्र्थापना केन्द्र स्थापना गर्नुपर्ने, बिरामी हुँदा अस्पताल पु¥याउने र ल्याउने व्यवस्था हुुनुपर्ने माग गरेको छ। मुकेशलाई निरन्तर फिजिओ थेरापी गरिरहनु पर्ने हुन्छ। त्यो काम उनका आमा बुबाले नै गर्दै आएका छन्।
मुकेशलाई ‘जिउँदो शहीद’ भनेर सम्बोधन गरिँदै आइएको छ। तर, त्यो नागरिकले दिएको उपमा मात्र भएको उनको परिवारको भनाइ छ। उनलाई सरकारले नै जिउँदो शहीद घोषणा गर्नुपर्ने परिवारको माग माग छ। मीराले भनिन्, ‘सरकारले क्याबिनेटबाट नै जिउँदो शहीद किन घोषणा गर्न सकेन?’
सरकारले मुकेशलाई सतप्रतिशत घाइते भनेर परिचयपत्र उपलब्ध गराएको छ। त्यसबाहेक सम्मान गर्न नसकेको मीराले बताइन्। उनले सरकारले झन्झन् जनआन्दोलनलाई बिर्सिरहेको र त्यसमा योगदान पुर्याउनेहरुको उचित कदर नभएको गुनासो गरिन्।