काठमाडौं । अफ्रिकी मुलुक कङ्गोमा इबोला सङ्क्रमण भयावह बन्दै गएको छ। त्यहाँ सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ भने पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले प्रकोप नियन्त्रणमा चुनौती थपिँदै गएको देखाएको छ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११ हजार ४२ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ३८७ जनाको मृत्यु भएको छ। यो कङ्गोमा देखिएको अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो। तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये झन्डै आधाको मृत्यु भएको छ।
गत मे महिनाको मध्यतिर प्रकोप घोषणा गरिएयता सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली, जीर्ण सडक पूर्वाधार तथा स्थानीय समुदायमा फैलिएको अविश्वास र गलत सूचनाले नियन्त्रण प्रयास प्रभावित भएका छन्। स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले पनि सङ्क्रमितसम्म उपचार तथा स्वास्थ्य सेवा पुर्याउन कठिनाइ भएको छ।
यस प्रकोपका लागि जिम्मेवार ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म कुनै खोप वा उपचार विधि उपलब्ध छैन। उक्त भाइरस कङ्गोका २६ मध्ये आठ प्रान्तमा फैलिसकेको छ।
विशेषगरी इतुरी र उत्तर किभु प्रान्तमा हिंसा पुनः चर्किएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन्। उनीहरूले सङ्क्रमित बिरामीसम्म स्वास्थ्यकर्मीको सहज पहुँच सुनिश्चित गर्न द्वन्द्वरत पक्षलाई लडाइँ रोक्न आग्रह गरेका छन्।
कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाकाका अनुसार कुल सङ्क्रमितमध्ये करिब ७० प्रतिशत इतुरी प्रान्तका छन्। उत्तर किभु भने नयाँ सङ्क्रमण फैलिने प्रमुख केन्द्रका रूपमा देखिएको छ।

इबोला भाइरसको अस्तित्वमाथि नै शङ्का गर्ने केही समुदायका मानिसहरूले स्वास्थ्य संस्था र चिकित्सकलाई निशाना बनाउँदै आएका छन्। यसका कारण स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमण भएका छन्।
प्रकोपले इतुरी प्रान्तका विद्यालयसमेत प्रभावित भएका छन्। त्यहाँका धेरै शिक्षकमा सङ्क्रमण देखिएको छ। प्रान्तीय राजधानी बुनियाका दुई विद्यालयका प्रधानाध्यापकले आफ्ना कर्मचारी गुमाउनुपरेपछि बाँकी शिक्षक र विद्यार्थीको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
तीमध्ये एक प्रधानाध्यापक आइज्याक सिङ्गोमाले विद्यार्थी र कर्मचारी गहिरो मानसिक आघातमा रहेको बताउँदै मनोवैज्ञानिक सहयोग आवश्यक रहेको बताएका छन्।
विशेषज्ञहरूले कङ्गोमा इबोलाको फैलावट रोक्न र प्रकोप नियन्त्रणमा लिन थप प्रभावकारी प्रयास गर्नुपर्ने बताएका छन्।
सन् १९७६ मा पहिलोपटक पहिचान भएको इबोलाका त्यसयता दर्जनौँ प्रकोप देखिएका छन्। सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप सबैभन्दा ठूलो र घातक थियो। उक्त अवधिमा २८ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।
हाल कङ्गोमा फैलिएको प्रकोप इबोलाको इतिहासमा दोस्रो सबैभन्दा घातक बनेको छ। पश्चिम अफ्रिकाको प्रकोपको तुलनामा यसपटक सङ्क्रमित र मृतकको सङ्ख्या कम भए पनि मृत्युदर उच्च देखिएको छ।








