दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस)प्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ। नियमित ओपीडी समयपछि पनि विशेषज्ञ चिकित्सकबाट उपचार लिन पाउने, आफूले चाहेको चिकित्सक छनोट गर्न सकिने र आधुनिक उपकरणसहितको प्रयोगशाला सेवा उपलब्ध भएपछि ईएचएस प्रभावकारी बन्दै गएको हो।
प्रतिष्ठानले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। त्यसपछि अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म ईएचएस सेवा उपलब्ध गराइँदै आएको छ भने ईएचएसअन्तर्गतको शल्यक्रिया कक्ष (ओटी) बेलुका ८ बजेसम्म सञ्चालन हुने गरेको छ।

ईएचएसमार्फत सेवाग्राहीले आफूलाई आवश्यक विशेषज्ञ चिकित्सक आफैँ छनोट गरी अनलाइन टिकटमार्फत सेवा लिन सक्छन्। चिकित्सक छनोटदेखि स्वास्थ्य परीक्षण र उपचारसम्मको प्रक्रिया सहज भएपछि नियमित ओपीडी समयपछि पनि विशेषज्ञ सेवा लिन चाहने बिरामीलाई सुविधा पुगेको प्रतिष्ठानको भनाइ छ।
प्रतिष्ठानमा सीटी स्क्यान, एमआरआईलगायतका आधुनिक उपकरणबाट परीक्षण गर्ने व्यवस्था छ। छिटोछरितो प्रयोगशाला परीक्षणसँगै विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ।

प्रतिष्ठानको तथ्यांकअनुसार २०८३ असोज १ देखि ३१ गतेसम्म एक महिनाको अवधिमा ईएचएसअन्तर्गत विभिन्न विशेषज्ञ विभागबाट ४४१ जनाले सेवा लिएका छन्। तीमध्ये सबैभन्दा बढी स्त्री तथा प्रसूति रोग विभागबाट १९० जनाले सेवा लिएका छन्।
त्यस्तै, हाडजोर्नी विभागबाट ३४, बालरोगबाट ३३, दन्तरोगबाट २९, आँखारोगबाट २४, मेडिसिनबाट २३, नाक, कान तथा घाँटीबाट २० र मुटुरोग विभागबाट १८ जनाले सेवा लिएका छन्। यसैगरी जनरल सर्जरीबाट १७, मनोरोगबाट १३, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनबाट १३, छालारोगबाट ११, न्युरो सर्जरीबाट आठ र युरोलोजी विभागबाट आठ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ।
नियमित ओपीडी समयपछि पनि विशेषज्ञ चिकित्सकबाट सेवा लिन सकिने, अनलाइनबाटै चिकित्सक छनोट गर्न पाउने र आधुनिक उपकरणबाट परीक्षण गर्न सकिने सुविधाले ईएचएसलाई सेवाग्राहीका लागि सहज बनाएको अस्पताल निर्देशक डा. सुरेश रसाइलीले जानकारी दिए।







