काठमाडौं । काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले बिरामीलाई घरबाटै ओपीडी टिकट लिन सकिने अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ। अस्पतालले सामाजिक सञ्जालमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिँदै अब बिरामीले घरमै बसेर सात दिनअघिसम्मको अपोइन्टमेन्ट बुक गर्न र आफूले चाहेको चिकित्सकसँग जाँच गराउने पालो सुरक्षित गर्न सक्ने जनाएको छ।
नयाँ सेवाबाट अस्पताल पुगेर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यसअघि मिडासले विकास गरेको ‘सिभिल सर्भिस हस्पिटल नेपाल’ एपमा भने अनलाइन अपोइन्टमेन्ट बुकिङको सुविधा उपलब्ध थिएन।
अस्पतालले आफ्नो वेबसाइटमा एन्ड्रोइड प्रयोगकर्ताका लागि ‘सीएसएच’ नामक नयाँ मोबाइल एपको एपीके लिंक राखेको छ। एप डाउनलोड नगरी वेबसाइटबाटै पनि अपोइन्टमेन्ट बुक गर्न सकिने व्यवस्था गरिएको छ। मोबाइल नम्बर प्रयोग गरेर अनलाइन प्रणालीमा लगइन गर्न सकिन्छ।
लगइनपछि बिरामीले आफ्नो नाम, लिङ्ग, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी सम्बन्धित विभाग छनोट गर्नुपर्छ। त्यसपछि टोकन लिने विकल्प देखिन्छ। अस्पतालले सात दिनपछिसम्मको अपोइन्टमेन्ट लिन सकिने बताए पनि वेबसाइटमा भने मिति छनोट गर्ने विकल्प स्पष्ट रूपमा देखिएको छैन।

अनलाइन बुकिङ प्रणालीमा निजामती कर्मचारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै विकल्प राखिएको छ। निजामती कर्मचारीले आफ्नो सङ्केत नम्बर (पीआईएस) प्रविष्ट गरी प्रमाणीकरण गर्नुपर्ने हुन्छ भने सर्वसाधारणले मोबाइल नम्बर प्रयोग गरेर प्रक्रिया अघि बढाउन सक्छन्। दर्ताका क्रममा मोबाइलमा नागरिक एप वा एसएमएसमार्फत ६ अङ्कको ओटीपी कोड प्राप्त हुन्छ।
पहिलो पटक दर्ता गर्दा प्रयोगकर्ताले आफ्नो विवरणसहित परिवारका अन्य पाँच जनासम्मको विवरण थप्न सक्ने व्यवस्था छ। यसरी परिवारका बढीमा छ जनाको पारिवारिक स्वास्थ्य परिचयपत्र बनाउन सकिन्छ।
बिरामीले आफ्नो स्वास्थ्य समस्या वा लक्षण नेपाली, अङ्ग्रेजी वा रोमन लिपिमा टाइप गरेर सम्बन्धित विभाग वा चिकित्सक छनोट गर्न सक्छन्। विवरण पुष्टि गरेपछि प्रणालीमा नेपालपे क्यूआर कोड उपलब्ध हुन्छ। उक्त क्यूआर कोड स्क्यान गरी १५ मिनेटभित्र भुक्तानी गरिसक्नुपर्छ। तोकिएको समयमा भुक्तानी नभए बुकिङ स्वतः रद्द हुने अस्पतालले जनाएको छ।
भुक्तानी पूरा भएपछि डिजिटल टिकट वा टोकन डाउनलोड गर्न सकिन्छ। अस्पतालमा आफ्नो पालो कहिले आउँछ भन्ने जानकारी नागरिक एपमार्फत हेर्न र ट्र्याक गर्न सकिने व्यवस्था पनि गरिएको छ।








