काठमाडौं , १७ कार्तिक । मारुती फर्मा प्रालिले ‘ग्लोबल ब्रान्ड अवार्ड्स २०२६’ प्राप्त गरेको छ। आइतवार श्रीलंकाको कोलम्बोस्थित टेम्पल ट्रिजमा आयोजित कार्यक्रममा कम्पनीका जनरल म्यानेजर दिनेश खालिङले अवार्ड ग्रहण गरेका हुन्।
कम्पनीले दिएको जानकारीअनुसार श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले खालिङलाई अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए। अन्येल्प ग्रुप्सद्वारा आयोजित कार्यक्रममा मारुती फर्मालाई औषधि क्षेत्रमा नवप्रवर्तन, गुणस्तरीय स्वास्थ्य सेवा र मानव कल्याणसँग सम्बन्धित विधामा सम्मान गरिएको हो।

कम्पनीका अनुसार विश्वभरबाट आवेदन दिन सकिने प्रक्रियामा सहभागी भएर मारुती फर्माले उक्त सम्मान प्राप्त गरेको हो। कम्पनीको प्रतिनिधित्व गर्दै खालिङ कार्यक्रममा सहभागी भएका थिए।
मारुती फर्माले यसअघि श्रीलंकामा संकटका बेला अन्य नेपाली औषधि कम्पनीसँग मिलेर निःशुल्क औषधि सहयोगसमेत गरेको जनाएको छ।








