काठमाडौं, १७ कार्तिक। कांग्रेस नेता एवं मेडिकल व्यवसायी सुनील शर्माको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा विमला थापा पोखरेलको मृत्यु भएको प्रकरणमा नेपाल मेडिकल काउन्सिलले सात महिनासम्म अदालतलाई विशेषज्ञ राय नदिँदा न्याय खोजिरहेको परिवारको पीडा थपिएको छ। मोरङ जिल्ला अदालतले विज्ञहरूको समिति बनाएर अध्ययन गरी राय पठाउन अनुरोध गरे पनि काउन्सिलले उक्त अध्ययनका लागि समिति नै गठन गर्न सकेको छैन।
अदालतले गत चैतमा विमलाको स्वास्थ्य अवस्था, उपचार पद्धति, प्रयोग भएका औषधि र मृत्युको कारणबारे विशेषज्ञ राय मागेको थियो। उपचारमा लापरबाही भएको हो वा होइन भन्ने प्रश्नको प्राविधिक निरूपणका लागि मागिएको राय सात महिनासम्म नपठाइनुले काउन्सिलको कार्यसम्पादन र संवेदनशीलतामाथि प्रश्न उठाएको छ।
काउन्सिलकी प्रशासकीय अधिकृत सुनिता प्रजापतिले हालै नयाँ नियुक्तिपछि आचारसंहितासम्बन्धी समिति बनेको र अब त्यस समितिले विज्ञहरू सम्मिलित अध्ययन समिति गठन गरेर अदालतलाई राय पठाउने बताइन्।
उनका अनुसार विज्ञहरूको अध्ययन समिति छिट्टै गठन गरिनेछ। तर अध्ययन पूरा गरेर अदालतलाई कहिलेसम्म राय पठाउन सकिन्छ भन्ने बारे अहिले नै भन्न नसकिने प्रजापतिको भनाइ छ । काउन्सिलका अध्यक्ष डा. ढुण्डीराज पौडेलले आफ्नो नियुक्ति हालैमात्र भएकाले थप अध्ययन गरेरमात्र घटनाका बारेमा भन्न सकिने प्रतिक्रिया दिए ।
‘आमा फर्किनुहुन्न, अरूका परिवारले यस्तो भोग्न नपरोस्’
मृतकका छोरा सुशान्त पोखरेलले आमाको मृत्युपछि परिवारको आधार नै गुमेको बताए।
“हाम्रो घरको पिल्लर नै ध्वस्त भयो,” उनले दुःख व्यक्त गरे। आफ्नी आमा फर्केर नआए पनि अरूका परिवारले यस्तै लापरबाही र पीडा भोग्न नपरोस् भनेर न्याय खोज्न अदालत गएको उनको भनाइ छ। उपचारमा के भएको थियो भन्ने तथ्य स्पष्ट होस् र गल्ती भएको भए सम्बन्धित पक्ष जवाफदेही बनोस् भन्ने परिवारको माग छ।
तर अदालतले मागेको विशेषज्ञ रायसमेत लामो समयसम्म नआउँदा परिवारले आफ्नो प्रश्नको निरूपणका लागि थप प्रतीक्षा गर्नुपरेको छ।

घर फर्किने तयारीमा रहेकी आमाको मृत्यु भएको परिवारको भनाइ
सुनसरीको इनरुवाकी विमला अघिल्लो साल माघ १० गते श्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पताल भर्ना भएकी थिइन्। परिवारका अनुसार उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो र घर फर्किने तयारीसमेत भइसकेको थियो। त्यसैबीच ढाड दुख्ने समस्या बताएपछि उनलाई पेनकिलर ‘मोर्फिन’ दिइएको र त्यसपछि अवस्था बिग्रिएको परिवारको दाबी छ। माघ २१ गते उनको मृत्यु भएको थियो।
छोरा सुशान्तले आमालाई वार्डमै राखेर मोर्फिनको ओभरडोज दिइएको आरोप लगाए। औषधि दिएपछि आवश्यक निगरानी नगरिएको र अवस्था बिग्रिएको जानकारी गराउँदा पनि समयमै गम्भीरतापूर्वक नलिइएको उनको भनाइ छ।
आमाको उपचारका रिपोर्ट आफ्ना फिजिसियन काकालाई पठाउँदा औषधिको मात्रा र उपचार प्रक्रियामा समस्या रहेको थाहा पाएको उनले दाबी गरे। घटनापछि उपचारमा संलग्न चिकित्सकहरूसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा नआएको पनि उनले बताए।
सुशान्तले अस्पतालले झुटा मेडिकल रिपोर्ट बनाएको आरोपसमेत लगाएका छन्। बिरामीको मृत्युपछि अस्पतालले आमाका बारेमा झुठा रिपोर्ट बनाएको भन्दै उनले त्यसको समेत छानवीन हुनुपर्ने माग अघि सारेका छन् ।
पाँच करोड क्षतिपूर्ति माग्दै अदालतमा
विमलाका पति महेश्वर पोखरेलले २०८१ चैत २० गते मोरङ जिल्ला अदालतमा नोबेल अस्पताल तथा उपचारमा संलग्न डा. रामहरि घिमिरे र डा. रुपक केसीविरुद्ध फिरादपत्र दर्ता गरेका थिए। परिवारले उपभोक्ता संरक्षण ऐनबमोजिम पाँच करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।
त्यसपछि अदालतले उपचारसँग सम्बन्धित प्राविधिक प्रश्न स्पष्ट गर्न नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ राय मागेको थियो। तर राय तयार पार्ने अध्ययन समिति नै सात महिनासम्म गठन नहुनुले उपचारमा लापरबाहीको आरोप लिएर अदालत पुगेका परिवारले थप पीडा भोग्न बाध्य भएका छन् । मृत्युजस्तो संवेदनशील विषयमा अदालतले मागे अनुसार राय दिन काउन्सिलले गरेको ढिलासुस्ती उदेकलाग्दो छ ।








