काठमाडौं । उपचारका क्रममा हुन सक्ने जोखिम र स्वास्थ्य सेवामा देखिने त्रुटि न्यूनीकरण गर्ने उद्देश्यले त्रिवि शिक्षण अस्पतालले बिरामी सुरक्षालाई प्राथमिकतामा राखेको छ। अस्पतालले उपचारमा समस्या देखिएपछि मात्रै प्रतिक्रिया जनाउने प्रवृत्तिको अन्त्य गर्दै सम्भावित जोखिमको पूर्वपहिचान र रोकथामका उपायलाई संस्थागत रूपमा अघि बढाउन थालेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्यले स्वास्थ्य सेवामा हुन सक्ने जोखिमलाई समयमै पहिचान गरी दुर्घटना तथा त्रुटि रोक्ने प्रणाली विकास गर्नुपर्ने बताए। अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षा एकाइ (क्युआइपिएस) मार्फत बिरामी सुरक्षासम्बन्धी अभ्यासलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उनले जानकारी दिए।

उनका अनुसार बिरामीको सुरक्षा सुनिश्चित गर्न अस्पतालका सबै विभाग, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र व्यवस्थापन पक्षबीच साझा जिम्मेवारी र प्रतिबद्धता आवश्यक छ। यसका लागि अस्पतालले जोखिम पहिचान, रोकथाम र स्वास्थ्य सेवाको गुणस्तर सुधारका अभ्यासलाई अघि बढाएको छ।
स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षासम्बन्धी दुईदिने कार्यशालामार्फत अस्पतालले यस विषयलाई थप संस्थागत बनाउने प्रयास गरेको हो। सचेतनालाई व्यवहारमा उतार्दै बिरामी सुरक्षालाई कार्यान्वयनमा लैजाने उद्देश्यले आयोजित कार्यशालामा स्वास्थ्य सेवाका प्रणालीगत कमजोरी पहिचान, उपचारका क्रममा हुन सक्ने जोखिम न्यूनीकरण, बिरामी सुरक्षाका प्रभावकारी उपाय र गुणस्तरीय सेवाको दिगो संस्कृति विकास गर्ने विषयमा छलफल गरिएको थियो।

सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा पवनराज चालिसेले स्वास्थ्य सेवामा समस्या वा जटिलता देखिएपछि मात्रै समाधान खोज्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए। सम्भावित जोखिमको समयमै पहिचान र रोकथामलाई स्वास्थ्य सेवाको अभिन्न हिस्सा बनाउनुपर्नेमा उनले जोड दिए।
बिरामी सुरक्षालाई प्रभावकारी बनाउन कुनै एक विभाग वा स्वास्थ्यकर्मीको प्रयास मात्रै पर्याप्त नहुने उनको भनाइ छ। अस्पतालको नेतृत्वदेखि चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र व्यवस्थापन पक्ष सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए।
कार्यशालामा काहोका अध्यक्ष डा. लल्लु जोसेफ, भारतको अमृता अस्पतालका मेडिकल डाइरेक्टर डा. सञ्जीव के. सिंह, मणिपालस्थित कस्तुरबा मेडिकल कलेजका बालरोग प्राध्यापक डा. सुनील सी. मुन्डकुर तथा सूक्ष्म जीव विज्ञान विशेषज्ञ डा. जे. जयलक्ष्मीलगायत अन्तर्राष्ट्रिय विज्ञले सहजीकरण गरेका थिए।







