काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पटक–पटक आमरण अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले डा. केसीको अभियानलाई नजिकबाट बुझ्ने र समर्थन गर्ने व्यक्तिहरू नै मन्त्रिपरिषद्मा रहँदा पनि पछिल्लो ६ महिनामा दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको उल्लेख गरेकी छन्।
उनले यसअघिको सत्याग्रहका क्रममा सरकारले डा. केसीसँग गरेका सहमति किन कार्यान्वयन हुन सकेनन् भन्ने प्रश्नसमेत उठाएकी छन्। सरकारसँग भएका सहमति कार्यान्वयन नभएकै कारण पुनः अनशन बस्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कार्कीले रगतमा चिनी र रक्तचापको मात्रा घट्नुका साथै मुटु तथा मांसपेशी दुख्ने समस्या देखिएको खबरले आफू दुःखी भएको बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला।’
सांसद कार्कीले सरकारलाई तत्काल डा. केसीसँग वार्ता गरी सहमति कायम गर्न र विगतमा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेकी छन्। आगामी दिनमा यस्ता परिस्थिति दोहोरिन नदिन समयमै समस्या पहिचान गर्ने, सरोकारवालासँग छलफल गर्ने र आवश्यक समन्वय गर्ने पद्धति विकास गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चितता र चिकित्सा शिक्षामा हुने विकृति अन्त्यको माग गर्दै डा. केसी लामो समयदेखि सत्याग्रह गर्दै आएका छन्। पछिल्लो अनशनका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि जीवनरक्षाका लागि सरकारलाई तत्काल पहल गर्न चिकित्सक तथा विभिन्न क्षेत्रबाट आग्रह भइरहेको छ।








