काठमाडौं । आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्य अवस्था थप जटिल बनेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
रगतमा चिनी (सुगर) को मात्रा घट्दै गएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। इलाम जिल्ला अस्पतालमा उपचाररत डा. केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। श्वासप्रश्वासमा समेत कठिनाइ देखिएपछि आइतबार रातिदेखि उनलाई अक्सिजन दिएर उपचार गरिएको थियो।

स्वास्थ्य अवस्था थप बिग्रिएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकहरूले उनलाई थप सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए। नेपाल चिकित्सक संघले पनि डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको थियो।
डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलामस्थित नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका थिए। सत्याग्रहको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार साँझ उनलाई इलाम जिल्ला अस्पताल भर्ना गरिएको थियो।
डा. केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व देखिएको भन्दै ६ बुँदे माग अघि सारेका छन्। न्यूनतम भौतिक पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति तथा विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने उनको माग छ।

त्यसैगरी, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता तथा निर्णयमा हुन सक्ने स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र सार्वजनिक शिक्षण संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग पनि उनले राखेका छन्।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका विषयमा सरकारसँग २०८३ साउन ११ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने मागसमेत डा. केसीको छ।
इलाममा मेडिकल कलेज स्थापना भए इलामसहित ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिकले सहज रूपमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ। मेडिकल कलेजको अभावमा यस क्षेत्रका नागरिक महँगो शुल्क तिरेर अन्यत्र अध्ययन तथा उपचार गर्न बाध्य रहेको उनले बताउँदै आएका छन्।
सरकार परिवर्तन भए पनि स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको भन्दै आफू पुनः सत्याग्रहमा बस्न बाध्य भएको डा. केसीले बताएका छन्। निजी स्वास्थ्य संस्थालाई प्रोत्साहन गर्ने तर सार्वजनिक स्वास्थ्य संस्थाको क्षमता विस्तारमा पर्याप्त ध्यान नदिने सरकारी नीतिप्रति पनि उनले आपत्ति जनाउँदै आएका छन्।







