काठमाडौं । औषधि व्यवस्था विभागका आयात–निर्यातसम्बन्धी विभिन्न सेवाका लागि अब नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने भएको छ। सेवाग्राहीले आवेदनदेखि शुल्क भुक्तानी र स्वीकृत सिफारिसपत्र प्राप्त गर्नेसम्मका काम यही प्रणालीबाट गर्न सक्ने विभागले जनाएको छ।
विभागले जारी गरेको विज्ञप्तिअनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्लू) मा औषधिजन्य कच्चा पदार्थ आयात, औषधि निर्यात र स्वास्थ्य प्रविधिजन्य सामग्री आयातका सिफारिससम्बन्धी सेवा समेटिएका छन्।
यस्तै, प्रयोगशाला परीक्षणका नमुना तथा रेफरेन्स स्ट्यान्डर्ड आयात, बिरामीका लागि औषधि आयात र औषधि आयातको विशेष सिफारिसका लागि पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सेवाग्राहीले प्रणालीमा आवश्यक विवरण भर्नुका साथै सम्बन्धित कागजात अपलोड गर्न सक्नेछन्। लाग्ने राजस्व तथा शुल्क अनलाइनबाट बुझाउन र स्वीकृत प्रमाणपत्र तथा सिफारिसपत्र प्राप्त गर्न सकिने विभागको भनाइ छ।
यस व्यवस्थाले सेवा लिने प्रक्रियामा लाग्ने समय र प्रशासनिक झन्झट घटाउने अपेक्षा गरिएको छ। औषधि व्यवस्था विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयको सहकार्यमा अघि बढाइएको प्रणालीले सम्बन्धित निकायबीच समन्वय र व्यापार सहजीकरणमा पनि सहयोग पुर्याउने विभागले जनाएको छ।
अनलाइन सेवाको शुभारम्भ विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षता र भन्सार विभागका महानिर्देशकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गरिएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा अर्थ मन्त्रालय, भन्सार विभाग, एनएनएसडब्लू, औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि सहभागी थिए।








