काठमाडौं । विश्व दृष्टि दिवस २०२६ को अवसरमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकासहित सबै उमेर समूहका व्यक्तिलाई नियमित आँखा जाँच गराउन आग्रह गरेको छ।
‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नारासहित प्रतिष्ठानले आँखासम्बन्धी रोगको समयमै पहिचान, रोकथाम र उपचारमा सबैको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो। विश्व दृष्टि दिवसको अवसरमा जारी प्रेस विज्ञप्तिमा प्रतिष्ठानले आँखा स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
विश्वभर कम्तीमा २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित रहेको प्रतिष्ठानले जनाएको छ। तीमध्ये करिब १ अर्ब मानिसमा रहेको दृष्टि दुर्बलता रोकथाम गर्न सकिने वा समयमै उपचार तथा सम्बोधन गर्न नसकिएको अवस्था रहेको छ। दृष्टि दुर्बलता वा अन्धोपनको समस्या भएका व्यक्तिमध्ये ९० प्रतिशत न्यून तथा मध्यम आय भएका मुलुकमा रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपालको तथ्यांकअनुसार कुल जनसंख्याको ०.२८ प्रतिशतमा कुनै न कुनै प्रकारको अन्धोपन रहेको छ। ५० वर्षभन्दा माथिको उमेर समूहमा अन्धोपनको दर १.०५ प्रतिशत रहेको छ। पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी देखिने गरेको प्रतिष्ठानले जनाएको छ।
नेपालमा अन्धोपना तथा गम्भीर दृष्टिदोषका प्रमुख कारणमा मोतीबिन्दु, दृष्टिदोष, आँखाको नानीमा फुलो पर्ने समस्या, जलविन्दु र मधुमेहका कारण हुने आँखाका रोग रहेका छन्।
पछिल्लो समय बालबालिकामा पनि सानै उमेरदेखि आँखासम्बन्धी समस्या देखिन थालेका छन्। प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिदोषका कारण चस्मा लगाउनुपर्ने बालबालिकाको संख्या बढ्दै गएको प्रतिष्ठानले जनाएको छ। समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी, जन्मजात मोतीबिन्दु, जलविन्दु तथा आँखाको क्यान्सरजस्ता समस्याको समयमै पहिचान र उपचार गर्न सके बालबालिकाको दृष्टि जोगाउन सकिने विज्ञप्तिमा उल्लेख छ।
विश्व दृष्टि दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी रूपमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम र आँखा शिविर सञ्चालन गरेको जनाएको छ। काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सामुदायिक आँखा अस्पताल, शल्यक्रिया केन्द्र तथा सामुदायिक आँखा केन्द्रमार्फत विद्यालयका बालबालिका, स्वास्थ्य सेवा विभागका कर्मचारी, कैदीबन्दी र कारागारका कर्मचारीलाई लक्षित गरी आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो।
शिविरमा आँखा परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको र मोतीबिन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रिया तथा आँखा जाँचको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ। आँखामा चोटपटक लाग्दा अपनाउनुपर्ने सावधानी तथा बालबालिकामा देखिने आँखाका समस्याबारे जानकारी दिन अडियो–भिडियो सामग्रीसमेत तयार गरी सामाजिक सञ्जाल तथा समुदायमा प्रसारण गरिएको छ।
प्रतिष्ठानले बच्चा जन्मेको एक महिनाभित्र, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष नियमित रूपमा आँखा जाँच गराउन अभिभावकलाई आग्रह गरेको छ। आँखा रातो हुने, डेढो हुने, धमिलो देखिने, दुख्ने, लगातार चिप्रा लाग्ने वा आँसु बग्ने, आँखाको आकार सामान्यभन्दा सानो वा ठूलो हुने तथा आँखाको कालो भागमा सेतो देखिने जस्ता लक्षण देखिएमा तत्काल आँखा जाँच गराउनुपर्ने प्रतिष्ठानको सुझाव छ।
त्यस्तै, आँखामा चोटपटक लागेका, समयअगावै जन्मिएका तथा कम तौलमा जन्मिएका शिशुलाई पनि सकेसम्म छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा लगेर परीक्षण गराउन प्रतिष्ठानले आग्रह गरेको छ।
आँखा स्वास्थ्य सेवामा सबैको पहुँच, नियमित परीक्षण र समयमै उपचार सुनिश्चित गर्न सरकार, स्वास्थ्यकर्मी, स्थानीय तह, समुदाय, साझेदार संस्था तथा सञ्चारमाध्यमको संयुक्त प्रयास आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ। आँखाको स्वास्थ्यप्रति सचेत रहन र दृष्टि सुरक्षाको अभियानमा सहभागी हुन पनि प्रतिष्ठानले सबैमा आह्वान गरेको छ।







