

वीरगन्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अगाडि स्नातकोत्तर आवासीय चिकित्सकहरूले आइतबार बिहान १० बजेदेखि प्रदर्शन गरिरहेका छन्।
‘दादागिरी बन्द गर’, ‘पैसा लुट्न पाइँदैन’, ‘तानाशाही चल्दैन’, ‘सहमति कार्यान्वयन गर’, ‘गलत निर्णय फिर्ता गर’लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरिरहेका हुन्।
स्नातकोत्तर आवासीय चिकित्सकहरूले गत भदौ ३१ गतेदेखि विभिन्न छ बुँदे माग अघि सारेर आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकमध्ये प्रथम वर्षका चिकित्सकहरूलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रवेशमा रोक लगाएपछि उनीहरू अस्पतालको प्रवेशद्वारमै अस्पताल सञ्चालकविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
‘असोज २ गते अस्पताल प्रशासनले प्रधानाचार्यको कोठामा बोलाएर हामीहरूसँग मागबारे लिखित रूपमै हस्ताक्षर गरेर दिन भन्यो,’ आन्दोलनरत चिकित्सकमध्येकी डा. निसा महर्जनले भनिन्, ‘हस्ताक्षर गरेर लिखित रूपमै दिएको मागहरू पूरा गर्नुको सट्टा चिकित्सकहरूसँग सहमति भएको भनिएर त्यसलाई दुरुपयोग गर्न खोजिएको छ।’
मागलाई हस्ताक्षरसहित लिखित रूपमा दिएको पत्र माथिल्लो निकायमा पठाएर अस्पताल प्रशासनले आन्दोलन भाँड्न खोजेको आरोप उनले लगाइन्।
असोज ८ गते पनि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर आवासीय चिकित्सकमध्ये प्रथम वर्षका चिकित्सकहरूलाई अस्पतालबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), त्रिभुवन विश्वविद्यालयलाई पत्र पठाएको थियो। पत्रसँगै भारी वर्षाकै बेला आन्दोलनरत चिकित्सकहरूलाई १२ घण्टे समय दिएर छात्रावास खाली गर्न सूचना जारी गरिएको थियो।
एक हप्तासम्म आन्दोलन गरे पनि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालकहरूबाट माग पूरा हुने अवस्था नदेखिएपछि आन्दोलनरत चिकित्सकहरू असोज ६ गते काठमाडौं पुगेका थिए।
काठमाडौं पुगेका चिकित्सकहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा. मोहन राज शर्मा र नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाललाई भेटेर आफ्ना माग पूरा गराउन पहल गरिदिन आग्रह गरेका थिए।
स्नातकोत्तर आवासीय चिकित्सकहरूसँगको भेटमा उनीहरूले एक/दुई दिनमै जायज माग पूरा गराउन पहल गर्ने आश्वासनसमेत दिएका थिए।
आफ्ना जायज माग पूरा नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने भन्दै नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्व राज दवाडीले असोज ६ गते संयुक्त विज्ञप्तिसमेत जारी गरेका थिए।



