

काठमाडौँ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकमाथि कलेज प्रशासनले दुर्व्यवहार गरेको, झूटा मुद्दा लगाएको तथा शोषण गरेको भन्दै चिकित्सा शिक्षा सङ्घर्ष अभियानले आपत्ति जनाएको छ। अभियानले शुक्रबार विज्ञप्ति जारी गर्दै कलेज प्रशासनको गतिविधिप्रति आपत्ति जनाएको हो।
अभियानका अनुसार कलेज प्रशासनले आवासीय चिकित्सकमाथि झूटा मुद्दा लगाउने, चिकित्सा शिक्षा आयोगले तोकेको पारिश्रमिक तथा तलब भत्ता उपलब्ध नगराउने र आईओएम डिन कार्यालयद्वारा जारी नियमको अवज्ञा गर्दै लगातार ३६ घण्टाभन्दा बढी काम गराउने गरेको छ।
त्यस्तै, धम्कीपूर्ण सूचना जारी गरी तत्काल होस्टेल खाली गराउन लगाउने तथा आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता गर्ने विषयमा आईओएमलाई पत्र पठाउनेलगायतका गतिविधि भइरहेको भन्दै अभियानले भर्त्सना गरेको छ।
आफ्नै चिकित्सकमाथि अमानवीय व्यवहार गर्ने र मानसिक तनाव दिने गतिविधि भइरहँदा सम्बन्धित नियमनकारी निकाय मौन बसेको भन्दै अभियानले प्रश्न उठाएको छ। यस्ता गतिविधिले मेडिकल कलेजहरू नियमनभन्दा बाहिर सञ्चालन भइरहेका त छैनन् भन्ने गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख छ।
नेसनल मेडिकल कलेजले विगतदेखि नै राज्यका नियम तथा कानुनको उल्लङ्घन गर्दै आएको आरोप लगाउँदै अभियानले नियमनकारी निकायले प्रभावकारी अनुगमन नगरेको जनाएको छ। नियमनकारी निकायको निष्क्रियताले कलेज प्रशासनसँग मिलेमतोको आशङ्कासमेत उत्पन्न भएको अभियानको दाबी छ।
यस्ता घटना निरन्तर भइरहे कलेजको सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाउन तथा कलेज सञ्चालकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न अभियानले सरकारसँग माग गरेको छ।
आवासीय चिकित्सकमाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गरी उनीहरूका माग सम्बोधन गर्न पनि अभियानले आग्रह गरेको छ। मागहरू शीघ्र सम्बोधन नगरिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै त्यसक्रममा उत्पन्न हुने कुनै पनि घटनाक्रमको जिम्मेवारी सम्बन्धित कलेज प्रशासनले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।




