

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकको पठनपाठन तथा क्लिनिकल गतिविधि स्थगित भएपछि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले कलेजलाई सहज रूपमा पठनपाठन सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको छ।
आईओएमका डिन प्रा.डा. मोहनराज शर्माले बिहीबार नेशनल मेडिकल कलेजलाई पत्र पठाउँदै वर्तमान समस्यालाई मध्यनजर गरी पठनपाठन तथा शैक्षिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न आग्रह गरेका हुन्।
आईओएमका सूचना अधिकारी निर्मल मिश्रका अनुसार कलेजलाई पठाइएको उक्त पत्र चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई समेत बोधार्थ उपलब्ध गराइएको छ।
यसअघि नेशनल मेडिकल कलेजले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका सम्पूर्ण स्नातकोत्तर आवासीय चिकित्सकको शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो। कलेज प्रशासनले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि उनीहरूको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीलगायत सम्पूर्ण गतिविधि तत्काल प्रभावबाट स्थगित गरिएको जनाएको हो।
कलेजले हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई फिर्ता बोलाइदिन आईओएम र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोधसमेत गरेको जनाएको छ।
कलेजका प्रधानाचार्य र अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकको कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी र अन्य प्रशिक्षण गतिविधि स्थगित रहने उल्लेख छ।
कलेजले चिकित्सकलाई फिर्ता बोलाउन औपचारिक अनुरोध गरेकै अवस्थामा आईओएमले भने वर्तमान समस्यालाई सम्बोधन गर्दै सहज रूपमा पठनपाठन सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको हो। यससँगै नेशनल मेडिकल कलेजमा पीजी आवासीय चिकित्सकको शैक्षिक तथा क्लिनिकल गतिविधि रोकिएको विषय थप विवादमा तानिएको छ।



